दार्जिलिङको रेल सम्पदा सूचीबाट हट्ने खतरा, युनेस्कोले टोली पठाउने

दार्जिलिङको छुकछुके रेल ।

भारतको दार्जिलिङ हिमालयन रेलवे एक सय चालिस वर्ष पुरानो विश्व सम्पदा स्थल हो। निरन्तरको बेवास्ता र संरक्षण नपुगेकाले दार्जिलिङ हिमालयन रेलवे सम्पदा सूचीमा राख्न योग्य भए–नभएको पत्ता लगाउन युनेस्कोले रेलवे प्रणालीको मूल्याङ्कन गर्ने भएको छ।

विश्व सम्पदा स्थलको संरक्षणबारे भारतीय रेलवेले दिएको जानकारीबाट असन्तुष्ट युनेस्कोले रियाक्टिभ मनिटरिङ मिसन पठाउने भएको छ। मिसन टोलीमा युनेस्को विश्व सम्पदा समिति र इन्टरनेसनल काउन्सिल अन मोन्युमेन्ट्स एन्ड साइट्स (आइसिओएसएस) का विशेषज्ञ सहभागी हुनेछन्।

उनीहरूले भारतीय रेलवेसँग संयुक्त रूपमा दार्जिलिङ हिमालयन रेलवेको अवस्था मूल्याङ्कन गर्नेछन्। अजरबैजानमा गत साता भएको युनेस्कोको वार्षिक बैठकको माइन्युट अनुसार टोलीले दार्जिलिङ हिमालयन रेलवेमा गर्नुपर्ने कामको प्राथमिकता र अवस्था तथा रेलवेको मूल्य र महत्वमा थप क्षति पुग्नबाट रोकथाम गर्नलाई आवश्यक सुझाव पनि पेश गर्नेछ।

सम्पदा सूचीमा राखिएपछि व्यवस्थापन राम्रो नभएकाले रेलवेको गुणस्तर खस्कदै गएको र आइसिओएसएसको सुझाव कार्यान्वयन गर्न नसकेको विषयमा विश्व सम्पदा समितिले बैठकमा छलफल भएको थियो। युनेस्कोको मार्गनिर्देशन अनुसार रियाक्टिभ मनिटरिङ टोलीलाई खतरामा परेका विश्व सम्पदा स्थलमा पठाइन्छ। त्यस्ता स्थल विश्व सम्पदाको प्रतिष्ठित सूचीबाट हट्ने सम्भावना पनि हुन्छ।

प्रकाशित मिति: : 2019-07-20 06:12:48

प्रतिकृया दिनुहोस्