बम बनाउने प्रशिक्षक राम आफैं भए विष्फोटको सिकार

धनगढीमा बिहीबार भएको बम विस्फोटमा परी मृत्यु भएका रामबहादुर सिंह अन्य कार्यकर्तालाई बम बनाउन सिकाउने प्रशिक्षक रहेको रहस्य खुलेको छ।

उनी विष्फोटको समयमा पनि कार्यकर्तालाई प्रशिक्षण दिएर फर्केका थिए। तीन दिनदेखि कञ्‍चनपुरको लालझाडी जंगलमा विप्लवले समूहले कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको र उनी त्यस प्रशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षक रहेको खुलेको छ। उनलाई पार्टीको प्रशिक्षण विभागले मुख्य प्रशिक्षकका रुपमा खटाएका थियो।

सिंहले तालिम दिनका लागि बम बोकेर जाँदा बाटोमै विस्फोट भएको हो। विप्लवका एक नेताले नाम नखुलाउने सर्तमा दिएको जानकारीअनुसार उनी विप्लव जनसेनाका प्रशिक्षक हुन्। उनले तालिममा बम निर्माणका विषयमा पनि सहभागीहरुलाई तालिम दिइरहेको थिए।

उनले कैलाली र कञ्चनपुर जिल्लाकोबीचमा पर्ने पुर्नवास नजिकैको जंगलमा तीन दिनदेखि सैन्य तालिम दिँदै आएका थिए। बिहीबार पनि सिंह र उनी सँगै रहेका लक्ष्मण शेराला तालिम स्थलमा बम लैजाने क्रममा थिए। प्रशिक्षणका लागि तालिम केन्द्रमा बम लैजाने क्रममा बाटैमा विष्फोट भएपछि उनको मृत्यु भएको हो। ‘उनले जंगलमा सुदूरपश्चिम प्रदेशका डेढ सय युवालाई तालिम दिदै थिए’ विप्वलका एक नेताले भने, ‘राम सिंह डेढ वर्षदेखि विप्लव समूहमा निक्कै सक्रियता साथ काम गर्दै थिए।’

डेढ वर्षअघि विप्लव समूहले काठमाडौँमा गरेको सभाबाट राम उक्त पार्टीमा प्रवेश गरेका थिए। सिंहको पारिवारिक स्रोतले भन्यो, ‘उनी विप्लव समूहमा तालिम दिने, बम बनाउने कार्यमा संलग्न रहँदै आएका थिए।’ विप्लव समूहले घटनाको जिम्मेवारी लिदै विस्फोटमा आफ्ना कार्यकर्ता रामहादुर सिंह ‘राजेश’ को मृत्यु भएको पुष्टि गरेको छ। पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन्। पार्टी कामको सिलसिलामा ‘आत्म रक्षाका लागि बोकेको बम विष्फोट भएको’ विज्ञप्तिमा उल्लेख छ।

राम सिंह तत्कालीन माओवादी लडाकु समायोजन हुने बेला पाँच लाख रुपैयाँ लिएर बहिर्गमन भएका थिए। कैलालीको माया मेट्रो अस्पतालमा उपचार गराइ रहेका लक्ष्मण पनि डेढ वर्षयता विप्लव नै समूहमा सक्रिय रहेको खुलेको छ। उनकी श्रीमती बिमलाका अनुसार शेराला एक हप्ताअघि काठमाडौँमा दाइलाई भेट्न जान्छु भनेर घरबाट निस्केका थिए। हिजो बिहान नेपालगञ्‍ज आइपुगें भनेर फोन गरेका उनले पर्सीसम्म घर आइपुग्छु भन्ने जानकारी दिएको उनले बताइन्। श्रीमान् कुनै पार्टीमा आवद्ध भए नभएको बारे आफूलाई जानकारी नभएको बिमलाको भनाई छ।

घट्टेकुलो विष्फोटमा मारिएका प्रज्वल र राम सिंह आफन्त

जेठ १२ गते काठमाण्डौंको घट्टेकुलोस्थित एउटा घरमा बम पड्केर मृत्यू भएका प्रज्वल र धनगढी सहिद गेटमा आफैले बोकेको बम पड्केर मृत्यु भएका रामबहादुर सिंह आफन्त रहेको खुलेको छ।

उनीहरु एउटै गाउँका बासिन्दा रहेको र नातामा बाजे र नाती पर्दछन्। जयपृथ्वी नगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष गगन बहादुर सिंहका अनुसार रामबहादुर केही समय अघिदेखि मात्रै विप्लव समूहमा सक्रिय बनेका थिए भने प्रज्वल २–३ वर्षदेखि सो पार्टीमा आबद्ध थिए। धनगढीमा मृत्यु भएका रामसिंहको पारिवारिक स्थिती निक्कै दयनीय भएको उनले बताए।

प्रकाशित मिति: : 2019-07-19 22:57:20

प्रतिकृया दिनुहोस्