'अनुहारको रङ उडेको देखेपछि मात्रै झस्किन्छु'

तस्बिरः नेपाललाइभ

काठमाडौं– टाउकोमा रुमाल बाँधेर आफ्नो पुछिएको सिँउदो ढाकिरहँदा उदास महसुस गर्छिन्, गोरखाको सुलिकोट गाउँपालिका–३ की शोभा नेपाली। 

मनभरि कुरा खेलिरहन्छन्। अनि घरिघरि आलो घाउले चहर्‍याइरहन्छ उनको छाती। श्रीमान बितेको २ महिना बितिसक्दा पनि उनलाई विश्वास लाग्दैन।

‘बेलाबेलामा आँखा उहाँ आउने बाटोतिर पुग्छन्, कतै आउनुहुन्छ कि जस्तो लाग्छ,’ शोभा टोलाउँदै भन्छिन्।

OOO

२०७४ माघ ३ गते। शोभालाई अझै ताजै छ।

‘घरमा छोराछोरीको राम्रो ख्याल राख है, दुई वर्षमा त म आइहाल्छु,’  यति भनेर बिदा भएका सुकबहादुर नेपाली लेभर कामका लागि कतार पुगेका थिए। कतार गएको डेढ वर्षसम्म उनले घरमा पैसा पठाइरहन्थे। 

‘विदेश जाँदा लागेको ऋण तिरेर भर्खरै सक्किएको थियो। अब कमाएर उहाँ घर फर्कनुहुन्छ अनि खुसीसँग नेपालमै केही गर्नुपर्छ भनेर सोच्न नपाउँदै दैवको आँखा लाग्यो,’ गहभरि आँसु पार्दै उनी भन्छिन्।

गत बैसााख २० गते उनी बस्ने कोठामा मृतक अवस्थामा भेटिए सुकबहादुर। बैसाख २८ गते सुकबहादुरको शव नेपाल ल्याएर अन्तिम संस्कार पनि भयो। 

तर, शोभालाई सुकबहादुरको मृत्यु भएको छैनझैं लागिरहन्छ। ‘मलाई अझै उहाँ घर आउनुहुन्छ, उहाँलाई केही भएको छैन जस्तै लागिरहन्छ। फेरि आफैंलाई हेर्छु, अनुहारको रङ उडेको देखेपछि मात्रै झस्किन्छु,’ उनी सुँक्सुकाउँदै भन्छिन्। 

उमेरले शोभा ३६ वर्षकी भइन्। 

१८ वर्षअघि शोभाको सुकबहादुरसँग विवाह भयो। जीवनको यात्रा राम्रोसँग चलिरहेको थियो। सुकबहादुरको खेतबारी थोरै मात्रै छ। 

शोभा त्यही खेतबारी र घरको काम गर्थिन्। सुकबहादुर प्रायः भारतसम्म पुग्थे र मजदुरी गरेर पैसा ल्याउँथे। भारत–नेपाल आउने जाने गरिरहँदा उनलाई त्यो भन्दा राम्रो कमाउने रहर जाग्यो। पहिलो पटक नै रोजगारीका लागि सुकबहादुर कतार गए।

‘सुन साइली, परदेशबाट म आउँला, चालिस कटेसी रमाउँला,’ सायद हेमन्त रानाको गीतजस्तै ४० कटेपछि रमाउने सोचेका हुँदा हुन्।

एकपटक परदेशबाट फर्किएपछि खेतबारी जोड्ने अनि खुसीसँग बस्ने सुनाएका थिए उनले शोभालाई। तर, उनको वैदेशिक रोजगारीको पहिलो यात्रा नै अन्तिम यात्रा बन्यो। 

परदेश पुगेका सुकबहादुरले ऋण मात्रै तिरे। तर, ४० कटेपछि श्रीमती, छोराछोरीसँग रमाउने उनको सपना अधुरै रह्यो। उनीहरूका तीन छोरा र एक छोरी। श्रीमान् बितेपछि चार सन्तानको जिम्मेवारी शोभाकै काँधमा थपिएको छ। 

प्रकाशित मिति: : 2019-07-18 15:58:04

प्रतिकृया दिनुहोस्