कोरला नाका : चीनतर्फ धमाधम काम, नेपालतर्फ सुनसान

तस्बिरः अनलाइनखबर

२ साउन पोखरा । नेपाल लेखिएकाे २०२९ सालमा गाडिएकाे २४ नम्बर पिल्लर । त्यसकाे सामुन्ने ताला ठोकिएको एउटा गेट छ । गेटबाटै देखिन्छ तारबारले घेरिएको ठूलो मैदान । त्यही मैदानमा एउटा भव्य संरचना बनिरहेको छ । केही मजदुर सिमेन्ट घोलिरहेका छन् । कोही मिलाउँदै छन्, स्काफोल्डर । डोजरले खनिरहेको छ । पिकअप भ्यानले धमाधम सामान ओसारिरहेको छ ।

यो दृश्य हो कोरला नाकाको, जुन नेपालको मुस्ताङ र चीनको तिब्बतको सीमा क्षेत्रमा पर्छ । अनि यो निर्माणाधिन संरचना हो, भन्सार कार्यालय ।

कोरला नाका खुल्ने चर्चा करिब एक दशक पुरानो हो । भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको बेला यो नाका खोल्ने विषय गरमागरम बनेको थियो । राष्ट्रपतिदेखि दलका शीर्ष नेताले चीन भ्रमणमा कोरला नाका खोल्ने विषयलाई प्राथमिकतामा राखेका थिए ।

अहिले चिनियाँ पक्ष जोडतोडले नाका खोल्ने तयारीमा जुटेको छ । तर, सिमाना पारी यसरी काम भइरहँदा वारी भने चकमन्न छ ।

नेपालतर्फ संरचना निर्माणको कुनै सुरसारै देखिँदैन ।

लेखबहादुर थापामगरले कोरला नाका खोल्ने चर्चा सुनेकै एक दशक बितिसक्यो । उनी आफैं अहिले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन् ।

असार मसान्तमा कोरला नाका पुगेर त्यहाँको अवस्था देखेपछि भूमि व्यवस्था मन्त्री थापाले भने, ‘नाकाको चर्चा सुनेको वषौं भयो । नेपालतर्फ संरचना त शून्य पो रहेछ ।’

जबकी कोरला नाकाको २४ नम्बर पिल्लरदेखि पारी चिनतर्फ एकीकृत भन्सार कार्यालयको संरचना धमाधम निर्माण भइरहेको छ ।

सडक स्तरोन्नतिको काम पनि जारी छ । ७४ असारदेखि नै चीनतर्फ भन्सारका कार्यालय, सडक, बिजुली, पानी लगायतमा काम सुरु भएको हो । तर नेपालतर्फ केही भएको छैन ।

प्रकाशित मिति: : 2019-07-18 15:20:26

प्रतिकृया दिनुहोस्