सुकुमबासी बस्तीमा ‘गुन्डाराज’ कायमै

भाडाका बाउन्सर’ लगाएर हरैयास्थित सुकुमबासी बस्तीमा घर भत्काउने, कुटपिट गर्ने र आगजनी गर्ने कार्य ६ दिनसम्म जारी रहेको छ। अविरल झरीमा सुकुमबासीको बिचल्ली बनाउने गरी गुन्डागर्दी शैलीमा हरैयाका झुप्रा भत्काउने कार्यको चौतर्फी आलोचना हुँदा पनि प्रहरी–प्रशासन र सरकार मौन बसेको छ। २०/२५ जना ‘बाउन्सर’हरू भाडामा प्रयोग गरेर बिहीबारदेखि सुकुमबासी बस्ती भत्काउन सुरु भएको स्थानीय बताउँछन्। मंगलबारसम्म एक सय झुप्रा भत्काइएका छन्। अझै ३० घर बाँकी छन्। उनीहरूले चक्कु, गैंची, हथौडा, करैंती बोकेर घर भत्काउने र कुटपिट गर्ने गरेका छन्।

मंगलबारमात्रना महिलालाई ‘बाउन्सर’हरूले कुटपिट गरेका छन् भने १५ झुप्रा भत्काएका छन्। आफूहरूको घर नभत्काउन भन्दै आग्रह गर्दा उल्टै घाँटी च्यापेटर कुटपिट गरेको सुनिता चौधरीले बताइन्। उनले भनिन्, ‘हामी सुकुमबासीको घर किन भत्काउन थालेको भन्दा उल्टै चक्कु देखाउँदै कुटपिट गरे।’ बाउन्सरहरूले सुनिता र कोमल चौधरीलाई कुटपिट गरेका हुन्। ‘भाडाका बाउन्सरहरूले हामीमाथि हात हालेरै कुटपिट गरे,’ कोमलले भनिन्।

 

– पाँच दिनदेखि सुकुमबासी भोकभोकै
– ११ महिनामा तीनजना सिडिओ फेरिए
– सुकुमबासी बस्तीमा भाडाका ‘बाउन्सर’
– विभिन्न दलद्वारा विरोध

पाँच दिनदेखि भोकभोकै
साउन लाग्दै गर्दाको बर्खे झरीमा घर भत्काइएका सुकुमबासीहरूको अवस्था दिनदिनै दयनीय बन्दै गएको छ। गत बिहीबारदेखि सुकुमबासी बस्तीमा ‘गुन्डाराज’ चलिरहँदा सुकुमबासी परिवार भोकभोकै छन्। डर, त्रासका बीच घर भत्काइएका सुकुमबासी झरीमा खुला आकासमुनि भोकभोकै बसिरहेका छन्। झरीमा भोकभोकै बस्दा बालबच्चा र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्।

घर भत्काइएपछि वर्षाले खाद्यान्नसहित लुगाकपडा भिजेपछि भोकभोकै बस्नुपरेको उनीहरूले बताएका छन्। ‘पाँच दिनदेखि भोकभोकै छु, खुला आकासमुनि झरीमा बस्नुपरेको छ,’ प्रेम थारुले भने, ‘बालबच्चा र वृद्धवृद्धाको बेहाल भएको छ।’ झरीमा रुझ्दा रुझ्दै बालबच्चा र वृद्धवृद्धा बिरामी पर्न थालेको बताउँदै सोकली थारुले भनिन्, ‘पानीमा लगातार रुझ्नुपर्दा निमोनिया, रुघाखोकी, ज्वरोको समस्या देखिएको छ।’

राति त्रिपाल टाँगेर ओत लाग्ने गरे पनि दिउँसो उनै ‘बाउन्सर’हरूले जलाइदिने डरले खोलेर राखी झरीमा भिज्नुपरेको तीतो यथार्थ बताउँदै बसीराम कोलीले भने, ‘६ दिनदेखि डरैडरमा लुकिछिपी बसिरहेका छौं।’

 

प्रकाशित मिति: : 2019-07-17 11:43:33

प्रतिकृया दिनुहोस्