प्रधानमन्त्रीलाई जानकारी

क्तिशाली प्रधानमन्त्री केपी ओलीले जानेरै हो कि नजानी हो सार्वजनिकरूपमै आफ्नो निरीहता प्रकट गर्न थालेका छन् । उनलाई आफ्नै मन्त्रीहरूले जानकारी नदिएको वा सचिवहरूले गलत जानकारी दिएको खुलासा प्रधानमन्त्री ओली आफैँले गर्न थालेका छन् । केही दिन पहिले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आफूलाई गलत जानकारी दिइएको गुनासो प्रधानमन्त्री ओलीले सार्वजनिकरूपमै गरेका थिए । अहिले भारतबाट तरकारी आयात गर्दा विषादी परीक्षण प्रकरणको विवादमा त उनले आफूलाई जानकारी नै नदिइएको खुलासा आफैँले गरेका छन् । प्रधानमन्त्री ओलीले तरकारीमा विषादी परीक्षणसम्बन्धमा भारतबाट पत्रै नआएको दाबी गरेलगत्तै सञ्चार माध्यममा त्यस्तो पत्र सार्वजनिक भएको थियो । प्रधानमन्त्री ओली र उनको मन्त्रिपरिषद्को कार्यशैली हेर्दा सम्भवतः अबको केही दिनपछि प्रधानमन्त्री ओलीले ‘असारे विकास’का नाममा भएको ‘ब्रह्मलुट’का बारेमा पनि आफूलाई अनभिज्ञ राखिएको गुनासो गर्नेहोलान् ।  

संसद्मा दुईतिहाइ बहुमतसाथ प्रधानमन्त्री भएका केपी ओली प्रतिदिन कमजोरमात्र हैन अलोकप्रिय र असान्दर्भिक पनि देखिन थालेका छन् । ग्रिक त्रासदीका नायकजस्तै उनको पतनमा भने स्वयं उनकै भूमिका निर्णायक रहेको देखिन्छ । विषादी परीक्षण प्रकरणमा भारतीय पत्र र कूटनीतिक गतिविधिका सम्बन्धमा उनले ‘‘कहाँ आएको छ पत्र ?’’ भनेर चर्किनुको साटो पत्रआएको आफूले थाहा पाएको छैन भनेको भए प्रधानमन्त्री ओलीले ढाँटेको सन्देश त प्रवाह हुँदैनथियो । प्रधानमन्त्री ओलीलाई अहिले बजेट सक्नैका लागि अनुचित र अनावश्यक काममा समेत पैसाको खोलो बगाइएको पनि सायद थाहा नहोला । काठमाडौं उपत्यका विकास प्राधिकरणले असारमा मात्र कति पैसा काठमाडौं महानगरपालिकालाई समेत थाहै नदिई कसरी बाँडेको छ र त्यसको उपलब्धि के भयो भन्ने जानकारी प्रधानमन्त्रीलाई कसैले पनि पक्कै दिएको छैन होला । 

प्रदेश सरकारका मन्त्रीहरूले अनावश्यक ठाउँमा पनि तटबन्ध, सडकसुधार आदिइत्यादी नाममा आफन्तलाई अध्यक्ष बनाएर स्थानीय तहलाई उपभोक्ता समिति बनाउँदै पैसा सिध्याएको पनि पक्कै थाहा छैन । रूपन्देहीको एउटा गाउँपालिकाका अध्यक्षले किसानले पाउनुपर्ने अनुदान आफ्नै पत्नीका नाममा निकासा लिने दिने काम गरेको पनि उनले थाहा पाएका छैनन् होला । घरमा भिडले तोडफोड गरेपछि बिमाबाट रकम लिएका प्रधानमन्त्री ओलीकै गृहजिल्लाको कुनै नगरपालिकाका प्रमुखले सरकारबाट पनि ३० लाख रुपियाँ लिएको जानकारी पनि उनलाई नदिइएको हुनसक्छ । अर्थ मन्त्रालयले अहिले दिनहुँ पाँच अर्ब रुपियाँ खर्च गरिरहेको समाचार सार्वजनिक भइसकेको छ । असार मसान्तमा आर्थिक वर्ष सकिने भएकाले साबिक भन्दा खर्चको मात्रा निकै बढ्नु अस्वाभाविक हैन । यस्तै, असार लागेपछि खर्च गरिने सबै रकममा अनियमिता नै हुन्छ भन्न पनि मिल्दैन ।
प्रकाशित मिति: : 2019-07-11 15:39:28

प्रतिकृया दिनुहोस्