कति पर्यटक आउँछन् पोखरामा ? पहिलोपटक निकालियो तथ्यांक

तस्बिरः अन्नपूर्ण पोष्ट

११ महिनामा आए २ लाख ८८ हजार विदेशी पर्यटक

पोखरा : पर्यटकीय राजधानीको रुपमा परिचित गण्डकी प्रदेशको राजधानी पोखरामा ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक आएका छन्। गण्डकी प्रदेश सरकारले प्रदेशमा आउने पर्यटकको तथ्याङ्क संकलन गरेको हो।

पोखरा र गण्डकी प्रदेशमा अहिलेसम्म वर्षेनी कति पर्यटक आउँछन भन्ने एकीन तथ्याङ्क नभए पछि गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन १ गते देखि स्थलमार्गमा प्रहरीको सहयोगमा र हवाई मार्गबाट आउने पर्यटकको तथ्याङ्क पोखरा विमानस्थलबाट लिएको हो।

गत साउनदेखि जेठ महिनासम्मको तथ्याङ्क अनुसार हवाई मार्ग र स्थल मार्ग हुँदै आउने भारतीय पर्यटकको संख्या १ लाख १६ हजार ६९६ रहेको छ। चीनसहित एसिया, युरोप, र अमेरिकाका पर्यटकको संख्या १ लाख ७१ हजार ७४९ रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत गोविन्द पौडेलले जानकारी दिए।

स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क तनहुँको आँपु खैरेनीस्थित पृथ्वी राजमार्गको आपु खैरानी प्रहरी चेक पोस्ट र स्याङजाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीको सहयोगमा गत साउन १ गतेदेखि संकलन गरिएको हो।

गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्याङ्क भने यस तथ्याङ्कमा समेटिएको छैन। नवलपुरतर्फ आउने पर्यटकको तथ्याङ्क पनि छिट्टै नै संकलन हुने गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले बताए।

प्रकाशित मिति: : 2019-07-11 13:43:53

प्रतिकृया दिनुहोस्