द्रुतमार्ग निर्माणको गति किन धिमा?

तस्बिरः अनलाइनखबर

२६ असार, काठमाडौं । लक्ष्य अनुसार काम हुने हो भने काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को काम अहिलेसम्म आधाभन्दा बढी सकिनुपर्ने हो । तर, अहिलेसम्म मुस्किलले एक चौथाई सकिएको छ । यो आयोजनामा ४८ महिनाको समयसीमा पाएको सेनाले २५ महिना गुजारिसक्यो ।

अब २३ महिनामा काठमाडौंबाट गुडेको गाडी सेनाले भनेजस्तै १ घण्टा २ मिनेटमा निजगढमा पुग्ला त ? नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन्, ‘अहिले हामीले गर्नुपर्ने जे–जति काम छन्, ती सबैलाई विश्लेषण गर्दा ठोकुवा नै गर्नु अलिकति महत्वाकांक्षी कुरा हुन्छ कि ?’

सीधा नभने पनि सैन्य अधिकारीहरु अबको २ वर्षमा फास्ट ट्रयाक निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्न नसकिने निश्कर्षमा पुगिसकेका छन् । केही समयसीमा लम्ब्याएरै भए पनि द्रुतमार्गलाई जतिसक्दो छिटो सकाउन सकिने उनीहरुले सरकारलाई आश्वस्त पनि पारेका छन् ।

त्यसैले पनि सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा फास्ट ट्रयाक ४ वर्षभित्र सम्पन्न गरिसक्ने उल्लेख गरेको छ । दुई वर्षअघि पनि फास्ट ट्रयाक ४ वर्षमै सक्ने गरी सेनाले जिम्मा पाएको थियो । सरकारले नीति तथा कार्यक्रममा फेरि ४ वर्ष उल्लेख गरेपछि फास्ट ट्रयाक तयार हुने समयसीमा कम्तीमा २ वर्षपछि धकेलिने पक्का जस्तै छ ।

सेनाका प्रवक्ता पाण्डे प्राविधिक रुपमा जटिल निर्माणका काम अझै अघि बढाउन नसकेका कारण केही चुनौती भएको बताउँछन् । तर, तोकिएको सयमसीमा भित्र नै सम्पन्न गर्न सेनाले अधिकतम् प्रयास गर्ने उनको दाबी छ ।

प्रकाशित मिति: : 2019-07-11 09:59:40

प्रतिकृया दिनुहोस्