भोजपुर घटना: मृतक राईकी पत्नीले रुँदै सरकारलाई गरिन् यस्तो आग्रह

तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रविक्रम चन्द नेतृत्वको दलको आक्रमणमा एकजना प्रहरी मारिएको अधिकारीहरूले जनाएका छन्।

उक्त घटनामा चन्दको दलका एकजना जिल्ला नेता निरकुमार राई पनि मारिएका छन्।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार भोजपुर नगरपालिका वडा नम्बर ७ स्थित हटियालाईनमा हतियार सहित केही व्यक्तिहरु लुकीछिपी बसेको सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासी गोली प्रहार गरेपछि घटना भएको हो।

को-को मारिए?

प्रहरी जवान सहित दुईजनाको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मारिएका प्रहरी संजिव राई जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।

प्रहरीले 'हतियारधारी समूहका करिब ३५ वर्षीय निर कुमार राईको साथबाट ठुलो चाइनिज पेस्तोल र त्यसको म्याग्जिन एक-एक थान र उक्त पेस्तोलमा लाग्ने गोली ६ राउण्ड बरामद भएको' जनाएको छ।

घटनामा अन्य दुईजना प्रहरी जवान समेत घाइते भएका छन्।

उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

विप्लवको दलका अन्य ४/५ जना व्यक्तिहरू फरार भएको र उनीहरूको खोजतलास गर्नुका साथै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

यसअघि विप्लवको दलले सुरक्षाकर्मीलाई आक्रमण गर्ने कुनै नीति नरहेको बताएको थियो।

तर उसले राजधानी उपत्यका लगायत देशका विभिन्न ठाउँमा भएका कैयौं हिंसात्मक घटनाको जिम्मेवारी लिने गरेको छ। उसले जिम्मा लिएका घटनामा यसअघि सर्वसाधारण र उसकै कार्यकर्ता पनि मारिएका छन्।

प्रहरी मारिएको भने यो पहिलो घटना हो। सरकारले उक्त दलका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।

मृतककी पत्नीको भनाइ

घटनाबारे विप्लवको दलको प्रतिक्रिया यो समाचार तयार पारुन्जेल आइसकेको छैन।

मृतक निरकुमार राईकी पत्नी इन्द्रकला राईले आफ्ना पति आफूहरूलाई भेट्न बिहान पाँच बजेतिर डेरामा आएको र करिब एक घन्टापछि गएको बताइन्।

बीबीसीसँग टेलिफोनमा कुरा गर्दै उनले भनिन्, "त्यसको एक घन्टापछि एकजना दिदीले बोलाउनु भयो। म सानो बच्चा लिएर त्यता जाँदै थिएँ, प्रहरीले बाटो बन्द गरेका थिए। के भयो भनेर प्रहरीले विप्लवका कार्यकर्तासँग भिडन्त भएको र मान्छेहरू मारिएको बताए।"

"त्यसपछि बोलाउने दिदी कहाँ पुग्दा यो मान्छे चिन्छ्यौं भनेर अनुहार घोप्टो परिरहेको मान्छेको फोटो देखाइन्। फोटोमा रगताम्य देखिन्छ। तर घटनास्थलमा रगत देखिन। पानी परिरहेको थियो।"

उनले घटना कसरी भयो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको तर फोटोमा हात बाँधिएको देखेको भन्दै उनले समातेर हत्या गरिएको हो कि भन्ने शङ्का लागेको बताइन्।

उनले भनिन्, "आफू त सानो बच्चा पढाएर बसेको मान्छे, केही जान्दिन, घटना के भएको हो भन्नेबारे अब छिनोफानो सरकार र पार्टीले गर्नुपर्छ।"

प्रकाशित मिति: : 2019-07-10 18:32:31

प्रतिकृया दिनुहोस्