एक चौथाइ क्षेत्रफलमा पनि भएन धान रोपाइँ !

रातोपाटी संवाददाता

काठमाडौँ– नेपालमा मनसुन सक्रिय हुन ढिलो हुनु र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण यस वर्ष अहिलेसम्मको अवधिमा अत्यन्त कम मात्रै धान रोपाइँ भएको छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म एक चौथाइ क्षेत्रफलमा पनि रोपाइँ हुन सकेको छैन । रोपाइँ थोरै भएपछि उत्पादन घट्ने निश्चित भएको छ ।

‘धेरैजसो स्थानमा आकाशे पानीमा भर पर्नुपर्ने भएकाले सोचेअनुसार असार तेस्रो सातासम्म पनि धान रोपाइँ हुन सकेन’, बाली विकास महाशाखाका निर्देशक सवनम सिवाकोटीले रातोपाटीसँग भनिन्, ‘धान रोपाइँ हुने नेपालको ४० प्रतिशत भूभागमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको भनिए पनि वास्तविकता त्यस्तो नभएकाले पनि धान रोपाइँको प्रतिशत घटेको हुनसक्छ ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार २२ गतेसम्म नेपालमा औसत २३ दशमलव ७६ प्रतिशत धानखेतमा मात्रै धान रोपाइँ भएको छ ।  गत वर्ष यही अवधिमा ५२ दशमलव ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

गत वर्षको तुलनामा यो वर्ष यो अवधिमा झण्डै ३० प्रतिशतले कम धान रोपाइँ भएको हो ।

नेपालको भौगोलिक अवस्थाअनुसार उच्च पहाडमा सबैभन्दा बढी प्रतिशतले धान रोपाइँ भएको छ । उच्च पहाडमा ३४ दलशमलव ६४ प्रतिशत धान रोपाइँ भएको छ भने दोस्रोमा मध्य पहाडी क्षेत्रमा ३१ दशमलव १५ र तराईमा २० दशमलव ६१ प्रतिशत धान रोपाइँ भएको छ ।

गतवर्षको सोही अवधिमा उच्च पहाडमा ६१ दशमलव ६५, मध्य पहाडमा ५५ दशमलव ६१ र तराईमा ५१ दशमलव ५८ प्रतिशत रोपाइँ भइसकेको थियो ।

प्रकाशित मिति: : 2019-07-09 13:46:18

प्रतिकृया दिनुहोस्