हाम्रो मुद्दा चर्चित बनाउन गृहमन्त्रीले नै सहयोग गर्नुभयो, उहाँलाई धन्यवाद !

र्व बाल सैनिक लेनिन विष्ट अहिले चर्चामा छन् । खासगरी युरोपको तीन महिने भ्रमणका क्रममा उनले त्यहाँ गरेका गतिविधिलाई लिएर अहिलेको सत्तारुढ दल नेकपामा रहेको पूर्व माओवादीको खेमा भने सशंकित छ ।  गत वर्षको भदौ ८ गते एक कार्यक्रममा भाग लिन थाइल्यान्ड जाने क्रममा उनलाई प्रशासनले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट फिर्ता गरेपछि उनी एकाएक चर्चामा आएका हुन् । उक्त प्रकरणमा उनले सोही भदौ १५ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा त्यसको अन्तिम छिनोफानो अझै भइसकेको छैन । उनलाई कसले युरोप पठायो, त्यहाँ केके गरे र आइसकेपछि उनलाई के कस्ता चुनौती आइपरेका छन् त्यसबारेमा विष्टसँग बाह्रखरीले विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीका मुख्य अंशहरुः

तपाईं अहिले सेलिब्रेटी नै भइसकेको हो, जताततै चर्चा सुनिन्छ नि ?

सेलिब्रेटी त होइन । तर, आफ्ना पीडाका कुरा उठाइरहेका छौं । यसमा जनस्तरबाट हामीलाई साथ मिलिरहेको छ ।

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले हालै एउटा सार्वजनिक कार्यक्रममा नै तपाईंको युरोप भ्रमणको बारेमा कुरा उठाउनु भएको थियो । उहाँले भने जस्तै कसैले प्रयोग गरेको हो तपाईंलाई ?

उहाँले गल्ति गर्नुभएको छ । त्यही भएर हामीले न्यायको कुरा उठाउँदा उहाँलाई छोएको हो । हामीलाई कसैले उचालेको भन्दा पनि आफ्नो देशमा न्याय नपाएपछि हामीले विदेशमा गएर गुहार्नु परेको हो । यो हाम्रो बाध्यता हो । 

तपाईलाई कसले युरोप लगेको हो ?

मलाई नेदरल्यान्डस् सरकारले लगेको हो । उहाँहरुकै खर्चमा म तीन महिना युरोपमा बसेर आएको हुँ ।

तपाईंलाई नेदरल्यान्डस सरकारले पहिला सम्पर्क गरेको कि तपाईंले उता सम्पर्क गरेको ?

विभिन्न संघ संस्था मार्फत नेदरल्यान्डस् सरकारको सम्पर्कमा पुगेको हुँ ।

कहाँका संघ संस्था ? नेपालका कि बाहिरका ?

बाहिरका संघ संस्थामार्फत् । 

युरोपमा के गर्नुभयो ?

नेदरल्यान्डस्का राजपरिवारका सदस्यसँग भेट भयो । अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न मिल्छ कि मिल्दैन भनेर हामीले त्यहाँका वकिलहरुसँग छलफल गर्यौं । त्यसपछि जर्मनी र फ्रान्सका सांसदहरुसँग समेत कुरा भयो । जेनेभामा संयुक्त राष्ट्र संघका रापोर्टरहरुसँग कुरा भयो, मानवअधिकार परिषद्मा पनि हाम्रो पीडा बारेमा जानकारी गराएका छौं ।

हेगमा मुद्दा दर्ता गर्न त मिलेन होइन ?

हामीले जानकारी गराएका छौं ।

नेपालको शान्ति प्रक्रिया भाँड्न तपाईंलाई कसैले प्रयोग गर्न खोज्यो भन्ने आरोप पूर्व माओवादीका नेताहरुले लगाएको सुनिन्छ । किन यस्तो आरोप लगाइएको होला ?

उहाँहरुले हामीलाई पहिला प्रयोग गरेकै हो । उहाँहरुका परिवारलाई मात्रै अहिले अवसर दिनु भएको छ । हामीलाई त्यत्तिकै फालिएको छ । त्यसैले अहिले सडकमा आवाज उठ्न थालेपछि उहाँहरुले हामीलाई आरोप लगाउनुभएको हो । 

प्रकाशित मिति: : 2019-07-09 09:59:02

प्रतिकृया दिनुहोस्