तनहुँ जलविद्युत् आयोजनाको बाँध बनाउन चार कम्पनी इच्छुक

उपेन्द्र खनाल

१ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि चार वटा कम्पनीहरूले बोलपत्र पेस गरेका छन् । आयोजनाको पर्वद्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेस गर्न दिएको अन्तिम दिन आइतबारसम्ममा चार कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेस गरेका हुन् । 

बोलपत्र पेस गर्ने कम्पनीहरूमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम/कालिका कन्ट्रक्सन, नेपाल जेभी रहेका छन् । दातृ निकाय एसियाली विकास बैंक(एडिबी) को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरी बोलपत्र आव्हान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीहरूले पेस गरेको प्राविधिक बोलपत्रकोे मूल्यांकन गरी सारभूत रूपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिए । ‘प्राविधिक बोलपत्रको मूल्यांकन आगामी भदौको दोस्रो साता (अगस्ट २०१९) भित्रमा सम्पन्न गरी सहमतिका लागि एडिबीमा पठाउँछौँ, एडिबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौँ’ प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले भने ‘कात्तिकको दोस्रो साता (अक्टोबर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यववसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको छ ।’

प्रकाशित मिति: : 2019-07-08 15:09:52

प्रतिकृया दिनुहोस्