फेसबुकमा यति बजेट पारेँ भन्ने,सदनमा असन्तुष्टि पोख्ने ?

सत्तासीन वा प्रतिपक्षी, सबै सांसदहरुले असार ५ गते वार्षिक कार्यक्रम (रेडबुक) हात परेको दिनबाट जिल्लाका नेता कार्यकर्तालाई फोन गरेर भने–यो क्षेत्रमा, यो योजनामा यति बजेट परेको छ है । कतिपय सांसदहरु आफैँले रेडबुकमा समाविष्ट योजनाहरुको फोटो खिचेर नै फेसबुकमा हाले । जस लिने होडबाजीमा सत्ता र प्रतिपक्षका सांसदहरुबिच प्रतिष्पर्धा नै चल्यो ।

जिल्ला तहका कार्यकर्ताहरुले पनि त्यही पछ्याए । प्रदेशका सात मन्त्रीहरुमा भने त्यो संयमता देखियो । भलै आफूहरुले हालेनन्, तर सोसाइटीमा परिन्न कि, काम गरेनन् कि भन्ने भयका कारण स्वकीय सचिवमार्फत मन्त्रीले पहल गरेको भनेर योजनाहरुको विवरण सामाजिक सञ्जालमा पोखिए । ३२ अर्ब १३ करोडको बजेट सामाजिक सञ्जालमा योजना र शीर्षकसहित २४ घण्टामै सामाजिक सञ्जालभरि छ्यापछ्याप्ती भए ।

सत्ता र प्रतिपक्षी दुवैले फेसबुकको भरपुर उपयोगमार्फत आफ्नो परिश्रम देखाएपछि रेडबुकका योजनालाई लिएर मन्त्रालयगत छलफल सुरु भयो । सैद्धान्तिक रुपमा सत्तासीन नेकपाका सांसदहरुले जबर्जस्ती सरकारले ल्याएको बजेटमा सहमति जनाए, प्रतिपक्षीले चाहिँ विरोधै ग¥यो ।
प्रतिपक्षी भएकै कारणले, दुईतिहाइको बहुमतको कारणले योजना नपारेको भन्ने असन्तुष्टि पोखिए । स्वयम् सत्तासीन दलका सांसदहरुले नै असन्तुष्टि समेत जनाए ।

अझैपनि मन्त्रालयगत छलफल सकिएको छैन, अन्तिम टुंगोमा पुगेको छ । गुनासो भने उस्तै छ । यस्तै गुनासोबाट आजित भएर प्रदेशको बजेट प्रस्तुतकर्ता एवम आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कडा जवाफ फर्काउन बाध्य भए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको छलफलपछि जवाफ दिँदै मन्त्री गुरुङले भने, “हामीले, हामीलाई मन परेन, अर्थात, हामीले भनेजस्तो भएन, भन्दैमा हामी दुखित हुनुपर्ने हुँदैन । कसैले अब फेसबुकमा मैले पारेँ भनेर पनि प्रचारप्रसार गरिरहेको छ एकातिर, फलानाको कारणले, यतियति बजेट यो यो जिल्लामा चाहिँ परेको छ भन्ने पनि आइरहेको छ । तर, यहाँ आउँदा सन्तुष्ट चाहिँ कोहि पनि हुनुहुन्न । सन्तुष्ट किन हुनुहुन्न त भन्दाखेरि आफुले भने अनुसार भएन । वश त्यतिमात्रै हो ।”

सांसदहरुले योजना पारेँ पनि भन्ने तर आफूले भनेको योजना परेन भनेर चित्त नदुखाउन उनले आग्रह गरे । “होला माननीय सडकले एउटा सडक भन्नुभएको थियो होला, अर्को सडक भन्नुभएको थियो होला अर्को सडक पर्न सक्छ, त्यो अर्काे ठाउँमा छ । र यसमा हामीमलाई चाहिँ सबै माननीयहरुलाई के भन्न चाहान्छु भन्दा हामी दुखित नहौँ, हामीले आफ्नो जिम्मेवारी, कर्तव्य, कार्यक्षेत्र हामीले सिकाउने हो । हाम्रो कार्यक्षेत्र हामीले बनाएको नीति, नियम विधान हामीले नै बनाएका छौँ ।”

यतिमात्रै नभई उनले सांसदहरुको काम नीति निर्माण गर्नु रहेको स्मरण गराए । 

प्रकाशित मिति: : 2019-07-05 09:44:06

प्रतिकृया दिनुहोस्