१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य

अर्जुन अधिकारी

फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएका

एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरू छन् । 

काउन्सिलले भने १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर, मन्त्रालयमा फाइल अड्किएको छ । यो नियम पास भयो भने १३ सयमध्ये सबैजसो डाक्टर लाइसेन्स परीक्षामा सहभागी हुन पाउँदैनन् । ‘यो नियम पास भए अहिले आन्दोलनमा आउने सबै डाक्टर परीक्षा दिन अयोग्य ठहरिनेछन्,’ काउन्सिल स्रोतले भन्यो । 

नौपटक फेल भएका डाक्टर आन्दोलनको नेतृत्व गर्दै
पटक–पटक फेल भएका डाक्टरहरू लाइसेन्सको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार मेडिकल काउन्सिलमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

प्रकाशित मिति: : 2019-06-29 13:14:03

प्रतिकृया दिनुहोस्