प्रभावकारी भएन सवारीको धुवाँ जाँच, हरियो स्टिकरबिनै गुड्छन् सवारी

तस्बिरः बाह्रखरी

काठमाडौं । सरकारले ०७५ भदौ १ गतेबाट देशभरका महानगरपालिका र उपमहानगरपालिकामा चल्ने सावरी साधनको प्रदूषण जाँच गरी अनिवार्य हरियो स्टिकर टाँस्ने व्यवस्था गरेको छ । हरियो स्टिकर नटाँसिएका सवारी साधनलाई सञ्चालन गर्न नदिने प्रावधान छ ।  तर, हालसम्म यो नियम कार्यान्वयन हुन सकेको छैन भने सवारी साधनको धुवाँ प्रदूषण चेकजाँच प्रभावकारी हुन सकेको छैन । 

काठमाडौं उपत्यकाका तीनवटै दरबार स्क्वायर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्ने सवारी साधन प्रदूषण जाँचसहित हरियो स्टिकरलाई अनिवार्य गरिएको छ भने अन्य स्थानमा प्रदूषित सवारी निर्वाध सञ्चालन भइरहेका छन् । सवारी तथा यातायात व्यवस्था ऐनको परिच्छेद १० मा यस ऐनअन्तर्गत बनेको नियम वा जारी गरेको आदेशको विपरीत काम कारबाही गर्ने गराउनेलाई अधिकार प्राप्त अधिकारीले दुई सयदेखि एकहजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

यो नियम उल्लङ्घन गर्ने सवारी चालक वा धनीलाई पनि सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन । “राम्ररी परीक्षण गर्ने हो भने एउटै सवारीको धुवाँ जाँच गर्न १० मिनेट समय लाग्छ । तर सवारी परीक्षण कार्यालयका कर्मचारीहरुले हतार–हतार धुवाँ जाँच गर्दा मापदण्ड बाहिरका सवारीले पनि हरियो स्टिकर पाइरहेका छन्,” यातायात व्यवस्था विभागका निर्देशक तथा सूचना अधिकारी तीर्थराज खनालले भने, “उपत्यकामा सतही रुपमा मात्र सवारीको धुवाँ जाँच भएको पाइन्छ । बेलाबेलामा हामीले सवारी परीक्षण कार्यालयको अनुगमन गर्दा यस्तो पाइएको हो । दैनिक अनुगमन गर्न सकिँदैन परीक्षण कार्यालयका कर्मचारी आफैंमा जिम्मेवार नबन्दा थप समस्या छ ।”

 

प्रकाशित मिति: : 2019-06-18 07:34:26

प्रतिकृया दिनुहोस्