नियन्त्रणबाहिर डेङ्गु : आधुनिक जीवनशैली मुख्य कारण

तस्बिरः रातोपाटी

काठमाडौँ– वैशाख ३१ गते सुनसरीको धरानमा एक जना मानिसमा डेङ्गुको सङ्क्रमण देखियो ।

एक महिनाअघि देखिएको डेङ्गु नियन्त्रण हुनुको साटो फैलिएर सुनसरी हुँदै मोरङ र झापालगायतका जिल्लामा पुगिसेको छ । अहिलेसम्म पूर्वी जिल्लाका ४ सय ७५ जना मानिसमा यो रोगको सङ्क्रमण भेटिएको छ ।

डेङ्गुको सङ्क्रमण सुरुमा सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा भेटिएको हो ।

त्यसपछि ७, ९ र १३ वडामा पनि यसका बिरामी देखिन थाले । विस्तारै सुनसरीको छिमेकी जिल्ला मोरङ र झापामा समेत देखिन थाल्यो ।

अहिलेसम्म सुनसरीको धरान उपमहानगरका मात्रै २० वटा वडामा डेङ्गु देखिएको छ ।

महानगरपालिकासँग स्वास्थ्यका विषयमा बजेट नभएकाले तत्कालका लागि विपद् कोषबाट यसको नियन्त्रणमा खर्च भइरहेको महानगरपालिकाले जनाएको छ ।

स्थानीय तह सरकारले नियन्त्रणका लागि हदैसम्मको प्रयास गर्दा पनि डेङ्गु नियन्त्रणमा नआएपछि प्रदेश र सङ्घीय सरकारलाई सहयोग माग्न बाध्य भएको धरान उपहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताइन् ।

उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि चिकित्सकहरूको ५ जनाको समिति नै गठन गरेको जनाएको छ । सो टोलीले टोल टोल र वडा वडामा पुगेर नियन्त्रणको प्रयास गरिरहेको बताइएको छ । उपमेयर भण्डारीले अबको एक सातासम्ममा डेङ्गु नियन्त्रणमा ल्याउने गरी काम भइरहेको रातोपाटीलाई बताइन् ।

डेङ्गु नियन्त्रणका लागि टोल टोल र विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेको धरान उपमहानगरपालिकाले जनाएको छ । सङ्क्रमितहरूको उपचार बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा भइरहेको छ ।

डेङ्गु फैलिएको एक महिना बितिसक्दा पनि प्रदेश सरकारले नियन्त्रणका लागि आर्थिक सहयोग नगरेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: : 2019-06-16 09:52:32

प्रतिकृया दिनुहोस्