बम विस्फोटले यसरी बिथोल्यो खड्गी परिवारको सपना (भिडियो रिपोर्ट)

समिर खड्गी

देशमा सशस्त्र द्वन्द्वको विधिवत अन्त्य भएको १३ वर्ष भयो। द्वन्द्वका पक्षहरू तत्कालीन अवस्थामा सरकार सञ्चालन गर्ने पार्टी र विद्रोही माओवादीले मिलेर यो अवधीमा पटक पटक सरकार चलाइसकेका छन्।

तर यी १३ वर्षमा माओवादी पार्टी सग्लो रहेन। माओवादीबाट विभाजित भएका विभिन्न समूहमध्ये एउटा नेत्रबिक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको समूह अहिले पनि सशस्त्र द्वन्द्वकै तयारीमा छ।

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नख्खुमा १२ फागुन २०७५ मा राखेको बम बिस्फोटमा परी लमजुङका सिंगबहादुर गुरुङ्गको मृत्यु भयो। सोही घटनामा प्रतीक्षा खड्का र उरुषा मानन्धर घाइते भए।

यी तीनैजना सर्वसाधारण नागरिक हुन्, जसको स्वतन्त्रतापूर्वक सुरक्षित बाँच्न पाउने अधिकारको हनन भएको छ। यस्ता घटना देशभर भएका छन्। विप्लव समूहको गतिविधिका कारण अहिले फेरि सर्वसाधारणमा त्रास बढिरहेको छ।

सशस्त्र द्वन्द्वमा आफन्त गुमाएका बिद्रोही र राज्यपक्ष दुबैका परिवार अझै पनि न्यायको खोजीमा भौंतारिइरहेका छन्।

सात वर्षअघि ५ मंसिर २०६३ मा दश वर्ष लामो सशस्त्र द्वन्द्वको विधिवत समापन भएको थियो। तर कतिपय समूह यसरी पहिलेकै राजनीतिक लाइनमा हिंडिरहन्छन्, जसले समाजमा लामो समयसम्म प्रभाव पारिरहन्छ। यहाँ द्वन्द्वले सिर्जना गरेको त्यस्तै एउटा घटना र त्यसले समाजमा पारेको प्रभावबारे खोजी गरिएको छ।

घटना ४ मंसिर २०७० को हो। देशमा ऐतिहासिक दोस्रो संविधान सभा निर्वाचनका लागि मतदान हुँदै थियो। त्यतिबेला मोहन बैद्य ‘किरण’ र विप्लव एउटै पार्टीमा थिए। उनीहरुलाई निर्वाचन बिथोल्नु थियो। त्यसैक्रममा राजधानीको भोटेबहाल क्षेत्रमा त्रास फैलाउन किरण–विप्लव समूहले बम राख्यो।

प्रकाशित मिति: : 2019-06-15 12:29:43

प्रतिकृया दिनुहोस्