बजेटपछि प्रदेश २ मा होला सरकार हेरफेर ?

तस्बिरः रातोपाटी

काठमाडौँ । प्रदेश २ मा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल एकपटक पुनः चर्चामा आएको छ । पार्टीकै प्रदेश सांसदले मन्त्रीहरुको आलोचनासहित नीति तथा कार्यक्रममा संशोधन दर्ता गरेपछि मन्त्रीको कार्यशैलीमाथि मात्र प्रश्न उठेको छैन, सरकारमा फेरबदलसम्मको चर्चा चल्न थालेको छ ।

राजपा नेपालका एकजना महासचिव भन्छन्, ‘प्रदेश २ मा रहनुभएका मन्त्रीहरुको बारेमा पार्टीमा शुरुदखि नै आलोचनाहरु भइरहेका थिए । बीचमा सुध्रिने मौका पनि दिएको थियो तर अहिले नीति तथा कार्यक्रममा उहाँहरु निकै आलोचित बन्नुभयो ।’

प्रदेश २ को बजेट आइसकेपछि पार्टीमा मन्त्रीहरुको बारेमा छलफल हुने बताइएको छ । नीति तथा कार्यक्रम ल्याउँदा मन्त्रीहरु व्यक्तिमुखी देखिएको तथा मधेश आन्दोलनको भावनाविपरित गएको आरोप सोही दलका प्रदेशसभाका सांसदहरुले लगाएका छन् ।

कार्यक्रमहरु आफ्नै क्षेत्रमा र आफ्नै गाउँ ठाउँमा मात्र लागेको आरोप उनीहरुमाथि लाग्दै आएको छ । नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा पार्टीमा रहेका अरु सांसद तथा नेताहरुलाई वेवास्ता गरेको पनि आरोप उनीहरुमाथि छ । ‘सत्तापक्षकै पाँचजना प्रदेशसभा सांसदले नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गरेपछि पार्टीका मन्त्रीहरु कति आलोचित छन् भने कुरा पुष्टि हुन्छ,’ ती महासचिव भन्छन् ।

प्रकाशित मिति: : 2019-06-14 09:46:31

प्रतिकृया दिनुहोस्