नक्कली भ्याट बिल प्रकरण : फैसला हुनै लागेको भाटभटेनीसहित ४ मुद्दाको सुनुवाइमा किन लाग्यो 'ब्रेक'?

nepal live

काठमाडौं– ६ वर्षअघि छानबिन भएको नक्कली भ्याट बिल प्रकरणका भाटभटेनी ग्रुपसहित चार आरोपीहरुको मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको थियो। तर, फाइल मगाउने आदेशसँगै सुनुवाइमा ब्रेक लाग्यो। बैसाख १७ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र बमकुमार श्रेष्ठको इजलासले फैसलाको क्रममा रहेको मुद्दामा मिसिल नपुगेको भन्दै पुन: झिकाउने आदेश गरेको थियो। 

आन्तरिक राजस्व कार्यालयले नक्कली भ्याट बिल जारी गर्ने कम्पनीमाथि गरेको प्रारम्भिक अनुसन्धानको फाइल नै  पेस नभई विभिन्न तहबाट फैसला हुँदै आएको जिकिर भाटभटेनी लगायत कम्पनीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले तर्क गरेपछि सर्वोच्चको यस्तो आदेश आएको हो।

यसअघि पटकपटक फाइल मगाउने आदेश भएको मुद्दामा अन्तिम बहस सुरु भए पनि कम्पनीका कानुन व्यवसायीहरुले मुद्दाको सुनुवाइ लम्बाउने प्रयोजनका साथ यस्तै बहस गर्दै आएका थिए। कानुन व्यवसायीहरुले मिसिल प्रमाण नपुगको तर्क उठाएपछि प्रधानन्यायाधीशको इजलासले फाइल मगाउने आदेश गरेको थियो। यो आदेशपछि नक्कली भ्याट बिल प्रकरण सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ। 

प्रकाशित मिति: : 2019-06-10 11:43:31

प्रतिकृया दिनुहोस्