४६ कम्पनीको प्रस्ताव मात्रै योग्य २२ खर्ब लगानी प्रस्ताव अघि बढ्यो

तस्बिरः नयाँ पत्रिका
  •  सोकेसबाहिरका ११ परियोजनामा समेत लगानी प्रस्ताव 
  • डेढ खर्बमाथिका ३ परियोजनाकोअध्ययन अनुमति 

लगानी बोर्डले प्रत्यक्ष वैदेशिक लगानी आह्वान गर्दै सोकेसमा राखेका ७७ परियोजनामध्ये ३५ परियोजनामा ६६ वटा कम्पनीले लगानी गर्ने इच्छा देखाएका छन् । तर, त्यसमध्ये ४६ वटा कम्पनीको मात्र लगानी प्रस्ताव स्वीकृत गरिएको लगानी बोर्डले जानकारी दिएको छ । काठमाडाैंमा १५–१६ चैतमा सम्पन्न लगानी सम्मेलन २०१९ पछि सोकेसमा राखिएका परियोजनामा ७ जेठसम्म विदेशी कम्पनीले अनलाइनमार्फत ‘लेटर अफ इन्टेन्ट’ आवेदन गरेका थिए । तर, बोर्डले दिएको समयसीमाभित्र लगानी प्रस्ताव आवेदनको ‘सपोर्टिभ डकुमेन्ट’ अर्थात् ठोस प्रस्ताव भने ४६ कम्पनीले मात्र बुझाएको बोर्डका सूचना अधिकारी राजु गुरागाईंले जानकारी दिए ।

‘अनलाइन आवेदन दिने संख्या बढी भए पनि ४६ कम्पनीले मात्र सपोर्टिभ डकुमेन्ट बुझाएका छन्,’ उनले भने, ‘ठोस प्रस्ताव बुझाएका कम्पनीलाई प्रतिस्पर्धामा राखेर बोर्डले प्रस्ताव मूल्यांकन गर्ने र कम्पनीको छनोट सूची (सर्ट लिस्ट) तयार गर्नेछ ।’ विदेशी कम्पनीहरूले १० हजार रुपैयाँ दर्ता शुल्क बुझाएर ती कम्पनीले अनलाइन आवेदन भरेका थिए । ‘लगानी प्रस्तावलाई परियोजनाको प्रकृतिका आधारमा विभिन्न चरणमा स्क्रिनिङ गर्ने, इभ्यालुएसन गर्ने र सूची प्रकाशित गर्ने तयारी छ,’ उनले भने ।

४ भदौ ०७७ भित्र विकासकर्ता छनोट गरिसक्ने  
बोर्डले लगानी प्रस्तावको मूल्यांकन सकेर ३ भदौभित्र कम्तीमा २७ परियोजनाको विकासकर्ता छनोट गरिसक्ने जनाएको छ । दोस्रो चरणमा केही आयोजनाको विकासकर्ता छनोट फागुन ८ भित्र र तेस्रो चरणमा ०७७ भदौ ४ भित्र प्रस्ताव परेका सबै परियोजनाको विकासकर्ता छनोट गर्ने कार्ययोजना बनाएको उनले बताए । बोर्ड एक्लैले सबै परियोजना कार्यान्वयन गर्न सम्भव नहुने भएकाले विषयगत मन्त्रालय तथा निकायहरूले नै लगानी कार्यान्वयनको नेतृत्व लिने कार्ययोजना छ । सोकेसका परियोजनामा अनलाइन आवेदन परेको, तर ठोस प्रस्ताव नपरेका आयोजनामा पछि फेरि प्रस्ताव आह्वान गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-06-10 09:56:24

प्रतिकृया दिनुहोस्