गगन र विश्वप्रकाश किन उत्रिए आरोप–प्रत्यारोपमा ?

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १ महिना लामो राष्ट्रिय जागरण अभियान समापन भए पनि काँग्रेसका नेताहरु बीचको आरोप प्रत्यारोप अझै सकिएको छैन ।  कार्यकर्ताको मनोबल उठाउन भन्दै काँग्रेसले वैशाख २५ देखि जागरण अभियान चलाएको थियो । शनिबार पहिलो चरणको जिल्ला केन्द्रित जागरण अभियान सकिएको छ  । दोस्रो चरणको प्रदेश निर्वाचन क्षेत्र केन्द्रित अभियान भदौ २४ बाट असोज १० सम्म हुनेछ । तेस्रो चरणमा पुस ७ देखि १६ सम्म पालिकामुखी अभियान हुनेछ । काँग्रेसका ‘दस भाइ’ युवा नेताहरुले जागरण अभियान सञ्चालनका लागि नेतृत्वलाई दबाब दिँदै आएको थिए ।

यता गत असारमा हेटौँडामा बसेको काँग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेलाले पनि जागरण अभियानको माग गरेको थियो । यस्तै मङ्सिर– पुसमा सम्पन्न महासमिति बैठकमा पनि राष्ट्रिय जागरण अभियान सञ्चालन गराउनुपर्ने चर्को माग उठेको थियो । त्यसको केही समयपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आगमी १४औँ महाधिवेशन गर्नेगरी तालिका नै प्रस्तुत गरे । त्यसबेला महाधिवेशन पूर्वतयारीका लागि पौडेलले केही आधारसमेत प्रस्तुत गरेका थिए । 

उनले प्रस्तुत गरेको तालिकाको पहिलो नम्बरमा देशव्यापी जागरण अभियान सञ्चालन गर्ने उल्लेख थियो । महासमिति लगत्तै ‘पुस १६ देखि २०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र साङ्गठनिक प्रशिक्षणसहित सदस्यता वितरण अभियान’ गर्ने पौडेलको प्रस्ताव थियो । 

प्रकाशित मिति: : 2019-06-10 08:48:55

प्रतिकृया दिनुहोस्