भारतमा तहल्का मच्चाइरहेका आयुष

जिटिभीको कार्यक्रम 'सारेगमप लिटल च्याम्प्स' मा भक्तपुरका १२ वर्षीय आयुष केसी।

‘हजुरलाई मैले गाएको कस्तो लागिराछ?’

भारतीय टेलिभिजन च्यानल 'जिटिभी' बाट प्रसारण हुँदै आएको 'सारेगमप लिटल च्याम्प्स' को सेमिफाइनलमा आयुष केसीले मञ्चबाटै आफ्नी आमा रितालाई सोधे।

छोरा आयुषको प्रस्तुति देखेर रिता पहिल्यै भावुक थिइन्। केही सातादेखि बिरामी आयुषले राम्रो गाउन सक्ने हुन् कि होइनन् भन्ने उनलाई अन्यौल थियो। तै हौसला दिँदै भनेकी थिइन्, ‘तिमीले सक्छौ।’

आमाको त्यो हौसलालाई आयुषले डग्मगाउन दिएनन्। सधैंझैं खुलेर गाइदिए,

‘तुम मिले दिल खिले
और जिनेको क्या चाहिए...’

भक्तपुरका १२ वर्षीय आयुषले बिरामी हुँदाहुँदै गाएको यो गीतले सबै निर्णायकको मन जित्यो।

गायिका ऋचा शर्माले मञ्चमै पुगेर अकंमाल गर्दै भनिन्, ‘मख्खनजस्तै मीठो गायौ। भगवान यहीँ कतै छन् भन्ने महशुस गरायो।’

अर्का गायक अमाल मल्लिकले एक असल 'प्लेब्याक' गायकमा हुने खुबी आयुषमा रहेको बताउँदै भने, ‘तिमी एकदम खतरनाक छौ यार!’

निर्णायक मण्डलको प्रतिक्रियासँगै तीस जना गायक/संगीतकारको जुरीबाट उनले 'चार्टबस्टर १०० अंक' पाए। र, यही गीतले उनलाई भारतीय गायन प्रतियोगिताको 'टप-६' अर्थात् फाइनलमा पुर्यायो।

उनीसँगै नेपालबाट गएका अर्का प्रत्यासी इटहरी–५ का प्रितम आचार्य पनि फाइनल पुगेका छन्, जसका बारेमा हामीले अघिल्लो स्टोरीमा चर्चा गरिसक्यौं। (हेर्नुहोस्: जिटिभीको ‘सारेगमप’ मा प्रितमले लगाएको प्रित)

प्रकाशित मिति: : 2019-06-06 09:56:43

प्रतिकृया दिनुहोस्