सबै स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालन गर्ने सरकारको योजना, साढे एक अर्ब बजेट विनियाेजन

तस्बिरः थाहा खबर

जेठ २३, २०७६ काठमाडौं :

मुलुकभरका सबै स्थानीय तहमा प्राविधिक शिक्षाको विकास र विस्तार गर्न सरकारले एक अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ।

मुलुकभरका  ७५३ स्थानीय तहहरुमा आगामी आर्थिक वर्षमा प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार गर्ने सरकारको योजना रहेको छ। अघिल्ला वर्षहरुबाटै सरकारले मुलुकभर प्राविधिक शिक्षाको पहुँच पुर्‍याउने लक्ष्य लिएको थियो। सरकारको लक्ष्यअनुसार हालसम्म ५०९ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएका छन्।

‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न र बढ्दो बेरोजगारी घटाउन सरकारले समयानुकूल प्राविधिक शिक्षालाई प्राथमिकता दिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षमा ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षालयको पहुँच पुग्ने जनाउँदै सो वर्षका लागि सरकारले विगतको तुलनामा प्राविधिक शिक्षातर्फ बढी बजेट विनियोजन गरेको बताएको छ।

प्राविधिक तथा व्यवसायिक तालिम केन्द्रका स्तर निर्धारण तथा समन्वय समितिका निर्देशक जीवनारायण काफ्लेले सरकारले लिएको लक्ष्यअनुसार नै तालीम केन्द्रको तयारी रहेको बताए। शिक्षामा प्राविधिक धारलाई प्राथमिकता दिने क्रममा सरकारले आगामी आर्थिक वर्षमा ८३ हजार युवालाई विभिन्न सीपमुलक तालिम प्रदान गर्ने लक्ष्य समेत लिएको छ। 

प्रकाशित मिति: : 2019-06-06 09:48:18

प्रतिकृया दिनुहोस्