भारतसँग रेलसम्झौता पुनरावलोकन हुँदै, बल्क कार्गो विस्तार गर्न नेपालको प्रस्ताव

तस्बिरः अनलाइनखबर

२० जेठ, काठमाडौं । नेपाल–भारतबीचको रेल सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । यसका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधिमण्डल जेठ २२ गते भारत प्रस्थान गर्नेछ ।

सहसचिव नवराज ढकाल नेतृत्वको ११ सदस्यीय टोली वार्ताका लागि भारत जान लागेको हो । यो पटकको वार्तामा जनकपुर–जयनगर रेल सेवा सुचारु गर्नेसहित विभिन्न स्थानमा बल्क कार्गो सेवा विस्तार गर्नेबारे पनि छलफल हुनेछ । जनकपुर–जयनगर रुटका लागि भारतसँग रेल किन्ने सम्झौता भइसकेको छ । यो रेलमार्गमा पनि कन्टेनराइज कार्गो सुविधा दिन भारतसँग आग्रह गरिने टोलीमा संलग्न एक सदस्यले जानकारी दिए ।

यस्तै वीरगञ्जबाहेकका अन्य प्रमुख नाकाहरुसम्म पनि ‘बल्क कार्गो’ सुविधा प्राप्त गर्ने विषयमा पनि वार्तामा छलफल हुने उनले बताए । यसअघि भारतसँग सन् २००४ मा रेल सेवा सम्झौता भएको थियो । यो सम्झौताअनुसार बल्क कार्गो कोलकाता बन्दरगाहबाट वीरगञ्ज नाकासम्म मात्र ल्याउन पाउने व्यवस्था छ । त्यसलाई अन्य प्रमुख नाकाहरुमा पनि विस्तार गर्ने गरी भारतसँग नेपालले पहल गर्दै आएको छ ।

बल्क कार्गोमा मल, चिनी, भटमास, नून, पिना, प्लाष्टिकका दाना, सिमेन्ट, कोइला, क्लिंकर, तरकारी, फलफूल लगायतका वस्तुहरु ठूलो परिमाणमा मात्रै ल्याउन पाइन्छ । अहिलेसम्म रेल सेवा सम्झौताअनुसार कोलकाताबाट वीरगन्ज नाकामा मात्र रेलमार्फत ढुवानी गर्न पाइने व्यवस्था छ ।

तेस्रो मुलुकको बल्क कार्गो सिधै रेलमार्गबाट वीरगञ्ज (रक्सौल) बाहेक बिराटनगर (जोगबनी), भैरहवा (नौतनवा) र नेपालगञ्ज (रुपैडिया) सम्म पुर्‍याउने सुविधाका लागि नेपालले भारतलाई पटक–पटक प्रस्ताव गरेको छ । अब कोलकाताबाहेक विशाखापटनम बन्दरगाह हुँदै तेस्रो मुलुकबाट समेत आयात हुने यी सामानहरु पनि बल्क कार्गोमार्फत नेपाली नाकाहरुसम्म ल्याउन दिन नेपालको जोड छ ।

प्रकाशित मिति: : 2019-06-03 13:28:16

प्रतिकृया दिनुहोस्