नेपालकै 'हर्ट लकर' स्टोरी: जसले बमसँग खेल्दै जोगाउँछन् जनताको ज्यान

पहिलोपोस्ट

सोमबार ललितपुरको चापागाउँ जाने बाटोमा राखिएको बम सेनाले डिस्पोज गर्‍यो। मिडियाहरु बम डिफ्युज गर्दाको क्षण कैद गर्न यहाँ केन्द्रित भइसकेका थिए। बमलाई असफल बनाएपछि ‘कूल’ पारामा यिनी हिँडेको देख्दा धेरैलाई अनौठो लाग्यो।

कम्ब्याटमा रहेका यिनले हातमा प्रेसर कुकर बोकेका थिए। मिडियाले यिनको तस्बिर खिचे। बम पड्केर क्षति हुन नदिन गरेको मेहनत यिनको मुस्कानमा छचल्किएको थियो। लुक्स ठ्याक्कै हलिउड अभिनेता जेरमी रेनर झै। ६ वटा एकेडेमी अवार्ड जितेको हलिउड फिल्म दी हर्ट लकरका हिरोभन्दा कम देखिएन यिनको शैली। कथा पनि उस्तै। फिल्मले इराकमा बम डिस्पोजको कथा बोल्छ, यिनले यहाँ आफ्नै यथार्थ। 

फोटोमा मुस्काउँदै गरेको देखिने यी हुन्, पारस कटुवाल। नेपाली सेनाका अमलदार। 

‘दुष्मनले मार्ने वा क्षति हुने गरी नै बम राखेका हुन्छन्। त्यसमा गएपछि मर्न पनि सकिन्छ जीवित पनि घर आउँन सकिन्छ। कुनै भर हुँदैन,’ मंगलबार हामीसँगको कुराकानीमा पारसले सुनाए।

सोमबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गर्‍यो। बन्दको पूर्व सन्ध्यामा राजधानीमा भएको बम विस्फोटले मानिस आतंकित बने। बम फेला पार्ने र विस्फोटन हुन रोक्ने काम दिनभर नै चलिरह्यो। त्यही क्रममा सक्रिय भएकाहरुसँग हामी कुरा गरिरहेका छौं।

‘हाम्रो काम नै हो। कर्तव्य हो यसलाई हामी सहज रुपमा नै लिन्छौं,’ छेउमै रहेका आफ्ना सिनियरतिर पुलुक्क हेर्दै अमलदार पारस बोले।

हातमा कुकर बोकेर मन्द मुस्कानसहित फोटो मिडियामा आएपछि यिनी चर्चामा रहे। फोटोमा उनको अनुहार प्रफुल्लित देखिएको थियो। मुस्काउनुको पछाडिको कारणलाई हामीले प्रश्नका रुपमा तेर्स्यायौं।

‘जब आफ्नो काममा सफलता हात पर्छ, आफू र अन्यलाई बचाएको जस्तो महसुस हुन्छ। अनुहारमा खुसीको मुस्कान आफैं आउँदो रहेछ,’अनुभव सेयर गर्दा फेरि मुस्कुराए उनी।

अहिलेसम्म कति रिक्स मोलेर बम डिस्पोज गराए भन्ने चाहिँ उनलाई पनि याद रहेनछ। बम डिस्पोज गर्नु चाहिँ सामान्य नै लाग्न थालेको छ उनलाई। तर, के उनलाई डर लाग्दैन त?

हस्यौली पारमा भने, ‘डर त छ। तर… डरभन्दा अघि जित छ।‘

+++

सोमबार बिहान साढे ८ बजेतिर बम भएको खबर आयो। अमलदार पारस ललितपुरको राजदल गणमा थिए। १५ वर्षदेखि नेपाली सेनाको डिस्पोजल टोलीमा रहेर पारसले काम गर्दै आएका छन्।

खबर पुग्ने वित्तिकै सेनाको बम डिस्पोजल टिम घटनास्थल पुग्यो। त्यतिखेर बम भेटिएको खबर चारैतिर फैलिएको थियो। यो खबरबाट कटुवालको परिवार चाहिँ टाढै रहने कुरा भएन। उनको मोबाइल बज्न थाल्यो।

‘श्रीमतीले फोन गरेकी रहिछिन्। मैले फोन गरेर फलानो ठाँउमा बम भेटियो जादैछु भनेको थिएँ,’ पारसले सुनाए, ‘सधै घरबाट फोन आइहाल्छ नि।‘

घटनास्थलमा प्रेसर कुकुर देखियो। छेउमा तीनवटा झोलामा बम पनि। घटनास्थलमा उनी लगायतलाई कमान्ड गर्न बाहिनीबाट क्याप्टेन अजित थापाको कमान्डमा टोली पाँच जनाको टोली जुटेको थियो। डिस्पोज गर्न तम्सिए कटुवाल।

प्रकाशित मिति: : 2019-05-29 10:04:11

प्रतिकृया दिनुहोस्