पृतनापति समन्वयात्मक बैठक शुरु

सैनिक मुख्यालय जङ्गी अड्डामा सुरू तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक, २०७६’

सैनिक मुख्यालय जङ्गी अड्डामा तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक, २०७६’ आजदेखि शुरु भएको छ।

बैठकमा रक्षामन्त्री ईश्वर पोखरलले अन्तर्राष्ट्रिय जगत्को सुरक्षा स्थितिबारे जानकारी लिँदै मुलुकको सुरक्षाको समीक्षा गरी परिष्कृत तुल्याउँदै लैजान निर्देशन दिए।

उनले भने, ‘भविष्यमा तय गर्नुपर्ने नीति सम्बन्धमा हुने छलफलले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै लैजाने छ । गौरवपूर्ण इतिहास बोकेको नेपाली सेनाले बद्लिँदो परिस्थितिमा आफूलाई अद्यावधिक गर्दै लैजानुपर्छ ।’

सो अवसरमा बलाधिकृत रथी शरदकुमार गिरीले नेपाली सेनाभित्र भइरहेका गतिविधिबारे जानकारी गराएका थिए। प्रधानसेनापति, रक्षा मन्त्रालयका पदाधिकारी, रथीवृन्द तथा पृतनापति सहभागी समन्वयात्मक बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा सबै पृतनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवं सुझावको सम्बन्धमा प्रस्तुतीकरण गर्नेछन्।

बैठकबाट आगामी दिनमा नेपाली सेनाको सम्पूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: : 2019-09-06 19:28:09

प्रतिकृया दिनुहोस्