पार्टीभित्र विभिषण प्रवृत्ति हाबी भयो‐ मुख्यमन्त्री गुरूङ

बीएल

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पार्टीभित्र विभिषण प्रवृत्ति हामी हुँदै गएको बताएका छन्।

जनताले दिएको जनमतलाई कदर गरेर अगाडि बढ्नुका साटो पार्टीकै साथीहरू कांग्रेसलाई गुहार्दै पार्टी विरूद्ध लागिरहेको उनको दाबी छ।

नवलपुरमा सांसद तिलक महतका माता नन्दकली महतको छैठौं पुण्यतिथिको श्रद्धाञ्जली सभामा बोल्दै मुख्यमन्त्री गुरूङले विभिषण प्रवित्तिको डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन समेत दिए।

‘महाभारतमा रावणले आफ्नै परिवारभित्र शत्रु भएर युद्व हारेको हो राम बलियो भएर होइन,’ उनले भने, ‘यस्तो प्रवृत्ति हामीमा देखिएको छ, हामी कांग्रेसलाई लाल्किरहेका छौं, यस्तो प्रवृत्ति विरुद्ध डटेर लाग्नुहोस अन्यथा हामी पार्टीलाई जोगाउन सक्दैनौं।’

उनले पार्टीमा मौलाइरहेको हनुमान प्रवित्तिले समेत पार्टीलाई हानी पुर्‍याउनेतर्फ सचेत गराए। नेताहरूमा सकारात्मक आलोचनासमेत सहन नसक्ने र आफ्नो आलोचना गर्नेवित्तिकै विरोधी खेमाको देख्ने व्यवहारले पार्टीलाई जिवन्त बनाउन नसक्ने उनको भनाई छ।

पार्टी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, पार्टी स्थायी समिति सदस्य सोमनाथ प्यासी, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे लगायत नेताहरु समेत माननीय महतका आमा नन्दकलीलाई श्रद्धाञ्जली व्यक्त गर्न नवलपुर पुगेका थिए।

स्वर्गीय महतको गत असार २७ गते काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो।

प्रकाशित मिति: : 2019-07-18 17:08:18

प्रतिकृया दिनुहोस्