घण्टीघरबाट गर्जिए रवि- दुई तिहाईको सरकारले जिउँदै छोड्यो, यही हो मेरो जित
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन्। सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरीरमा एक थोपा रगत भएसम्म पछि नहट्ने बताए। उनले भने, ‘सरकारले सक्ने जति जोड बल लगाएको छ। केही नभएको भए त्यत्रो धरौटी लिन्थ्यो अदालतले? भन्छन्। तिमीहरूको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत हुनजेलसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु। चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार, मैले व्यक्तिगत जीवनको लागि कहिल्यै केही मागेको छैन। म राजनीतिमा हुन्नथें भने यो दुःख खेप्नुपर्ने पनि थिए। लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाई रहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन।’
बिएल संवाददाता - काठमाडौं