मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको भन्दै ललितपुरस्थित निदान अस्पतालका सिईओ र डाक्टरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।
अस्पतालकै मिलोमतोमा एकजनाको फाईल खडा गरी अर्कैको मृगौला निकालेर प्रत्यारोपण गरेको भेटिएपछि नेपाल प्रहरीको मानव बेचबिखन व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधानसहित ५ जनालाई नियन्त्रणमा लिएको हो।
उनीहरुले नक्कली आफन्त खडा गरी एक २८ वर्षीया युवकको मृगौला तीन लाख रुपैयाँमा किनबेच गरेका थिए ।
उक्त युवाको मृगौला झिकेर रामेछाप दोरम्बाका शंकललाल लामालाई प्रत्यारोपण गरिएको थियो ।
पक्राउ पर्नेमा सिईओबाहेक डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका-९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आले छन् ।
भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार हुन् भने आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन्।
जिल्ला प्रशासन कार्यालय ललितपुरले मिर्गौला प्रत्यारोपणका लागि एकको अनुमति दिएकोमा शाखा अधिकृत आलेले अस्पतालकै मिलेमतोमा अर्कै व्यक्ति खडा गराउने कागज तयार पारेका थिए ।
तीन महिनाअघि भएको सो घटनाबारे सूचना पाएपछि एक महिनायता प्रहरी अनुसन्धानमा जुटेको थियो ।
ब्यूरोका अनुसार त्यसरी मृगौला प्रत्यारोपण गर्दा कानुनी प्रक्रिया अनुसार एक समिति हुन्छ, त्यसमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि समेत हुन्छ । त्यो समितिले मृगौला दिनेदेखि प्रत्यारोपण गर्नेको विवरण हेरेर पास गरेपछि मात्र निकाल्न र प्रत्यारोपण गर्न मिल्छ।
पक्राउ परेका ५ जनालाई ब्यूरोले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
के छ कानुनी व्यवस्था ?
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानिसको अङ्ग झिक्ने कार्यलाई मानव बेचविखन र ओसारपासर गरेको मानिने उल्लेख गरिएको छ ।
सोही एनेको परिच्छेद ४ मा दण्ड सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थामा भनिएको छ, ‘प्रचलित कानून बमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख गरीएको छ ।