वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘बैरागी काइला’लाई यस वर्षको ‘बिपी साहित्य सम्मान पुरस्कार’ प्रदान गरिएको छ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले आज यहाँ एक कार्यक्रमको आयोजनामा रु एक लाख एक हजार राशिसहितको उक्त सम्मान उनलाई प्रदान गरेको हो ।
यसैगरी रु ५१ हजार राशिको ‘बिपी सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको आन्दोलन एवं सङ्घर्षमा महत्वपूर्ण योगदान पुर्याउने सप्तरीका मधुकान्त सिंहलाई प्रदान गरिएको छ । दुवै सम्मान नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रदान गरे।
कार्यक्रममा काङ्ग्रेस नेता कोइरालाले बिपी बहुआयामिक, चलायमान र दूरदर्शी नेता भएको बताउँदै बिपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न काङ्ग्रेस खरोरुपमा उत्रनुपर्ने उल्लेख गरे।
गणतन्त्र र सङ्घीयतालाई सम्बद्र्धन गर्न सङ्घीय सरकारले आवश्यक काम गर्न नसकेको आरोप लगाउँदै नेता कोइरालाले यसका लागि लोकतान्त्रिक शक्ति र नागरिक समाज जुर्मुराउने बेला आएको बताए।
सरकारले संसद्मा अघि बढाएका केही विधेयक लोकतन्त्रविरोधी भएको टिप्पणी गर्दै उनले यसमा काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।
काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले बिपी कोइरालाबाट आफूले असल बन्नुपर्छ भन्ने र असल काम गर्ने प्रेरणा पाएर सोहीअनुसार अघि बढेको बताए। राजनीतिक विश्लेषक डा हरि शर्माले बिपीले अपनाएको सिद्धान्त र दूरदर्शी सोचलाई काङ्ग्रेसले आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्दै मुलुकमा भ्रष्टाचार, महङ्गी र असुरक्षा बढ्दासमेत काङ्ग्रेसले अपेक्षाकृत भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे।
कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय वरिष्ठ साहित्यकार बैरागी काइँला र मधुकान्त सिंह, पूर्वराजदूत डा सुरेश चालिसे, ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, प्रा अभि सुवेदी, ट्रष्टका महासचिव रामचन्द्र पोखरेललगायतले बिपीले मुलुकका लागि गरेको राजनीतिक र साहित्यिक योगदानको चर्चा गरेका थिए।
ट्रष्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ। ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचन सदस्य रहेको सिफारिस समितिले गत साउन १५ गते उक्त निर्णय गरेको थियो। दुवै पुरस्कारहरु आज १०६ औँ बिपी जन्मजयन्तीको अवसर पारेर प्रदान गरिएको हो ।
यसअघि २०७१ सालमा साहित्य सम्मान वरिष्ठ साहित्यकार रत्नशम्शेर थापा र सेनानी सम्मान नूतन थपलियालाई, २०७२ सालमा साहित्य सम्मान साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व तारानाथ कोइरालालाई प्रदान गरिएको थियो ।
यसैगरी २०७३ सालमा साहित्य सम्मान साहित्यकार भुवन ढुङ्गाना तथा सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको थियो । विसं २०७४ मा साहित्य सम्मान प्राडा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरिएको थियो भने २०७५ सालमा साहित्य सम्मान साहित्यकार रोचक घिमिरे र सेनानी सम्मान स्व चक्रप्रसाद बाँस्तोलालाई प्रदान गरिएको थियो ।