कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ सिकलपट्टि जाइका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ।
तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ।
नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्यक्ष बहादुर रानाले बताए। लगातारको वर्षासँगै नदीमा आएको बाढीले जग्गा बगाउन थालेपछि बस्तीसमेत जोखिममा रहेको छ । “तत्काल जग्गा कटानको कार्य नरोकिए बस्तीनै विस्थापनमा पर्न सक्ने भन्दै स्थानीयहरु चिन्तीत भएका छन्।
नदी नियन्त्रणका लागि गाउँपाललिकाले तत्काल अल्पकालीन योजना अगाडि बढाउनुपर्ने स्थानीयवासीको माग छ।
५०० मिटरको क्षेत्रमा नदीले लगातार जग्गा कटान गरिहेकाले स्थानीय बासिन्दा पानी पर्नासाथ अनिदोमै रात बिताउन थालेका छन्।
नदीले मकै रोपेको १० कठ्ठा जग्गा तीन दिनको अवधिमै बगाएर लगेको स्थानीयवासी मनोज रानाले बताए। गुरुयोजनासहित नदी नियन्त्रणका लागि योजना ल्याई बस्ती विस्थापन हुनबाट जोगाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ।