जीवनको यात्रा गर्दागर्दै कहिलेकाँही नसोचेको बिन्दुमा पुगिने रहेछ। धेरैले भन्ने गरेको ‘सेकेन्ड चान्स’ हुँदैन रहेछ। त्यहाँ पुगेपछि फर्कन सकिँदैन र अगाडि बढ्ने बाटो हुँदैन। तर झिनो आशा भने झुण्डिएको हुने रहेछ, जसलाई भेट्न कठोर परिश्रम गर्नुपर्ने रहेछ।
म परिश्रमसँग डराउने मान्छे त हैन, तर के गरुँ परिश्रम गर्न ज्यानले भर दिएको पनि हुनु पर्यो नि! ‘पहाडै फोर्न सक्छु’ भन्ने मेरो शक्ति चार महिनादेखि अस्पतालहरुमा छरिएको छ। मेराे आत्मविश्वास परिवार, चिकित्सक र आफन्तबीच रुमलिएको छ। गतिशील मेरो जीवन अहिले अड्किएको छ।
पेशाले पत्रकार,
उमेर २३ वर्ष
स्थायी ठेगाना, दैलेख भगवतीमाई गाउँपालिका–२, वीरेन्द्रनगर सुर्खेतबाट काम गर्छु। हाल लोकन्थलीको एक घरको कोठामा बसिरहेको छु। मात्र केही महिना भयो, मेरो दैनिकी के थियो के भयो!
काममा मग्न थिएँ, व्यस्त थिएँ। नियमित खानपान, व्यायाम गर्न समय नै पुगेन अथवा प्राथमिकतामा परेन। पढाई, परिवार अनि कामलाई सोच्दा सोच्दै आफ्नो शरीरको बारेमा सोच्नै भ्याइन।
पातलो आङको मेरो ज्यान देखेर आमाले भन्नुहुन्थ्यो, ‘खाना खान्नस् कि क्या हो ? आफ्नो ज्यान भएन भने केही हुँदैन।’ मेरो धपेडी शायद आमाले बुझिन् तर मलाई शरीरबारे सोच्ने फुर्सद तब मिल्याे जब बिस्तारबाट उठ्न नसक्ने भएँ।
मेरो पेशा नै व्यस्त हुने खालको छ। गत जेठ महिनादेखि म रोगबाट उन्मुक्ति पाउन खोजिरहेको छु। अस्पताल चाहार्दैमा महिना बितिरहेका छन्। काममा दौडँदा दौडँदै बिरामी भएँ। झण्डै एक महिना सुर्खेतका सरकारी र निजी अस्पताल धाउँदैमा बित्यो।
सुर्खेत अस्पतालमा जाँच गर्दा शरीरमा रगतको कमी देखियो। १५–१५ दिनमा परीक्षण गर्न आइरहन चिकित्सकले सुझाए, यतिबीचमा मैले औषधी खानुपर्ने पर्ने भयो। टाउको दुख्यो, पेट दुख्यो भने एक चक्की औषधिले दुखाई कम गर्थ्यो तर मेरो समस्या घट्ने तरखरमा थिएन।
संघीय व्यवस्था लागु भएपछि सुर्खेत कर्णाली प्रदेशको राजधानी घोषित भइसकेको छ। तर अस्पतालले दिने सेवा, सुविधा र स्वयं अस्पतालको अवस्था देख्दा उदेक लाग्छ।
यहाँ कतिपय रोग पहिचान गर्न चिकित्सकले परीक्षणकालका लागि अनुमान गरेर औषधि दिन्छन्। आवश्यक प्रविधि र उपकरणकाे अभाव छ।
सुर्खेतको उपचारले निको नभएपछि म कोहलपुर मेडिकल कलेज पुगेँ। वीर अस्पतालमा कार्यरत श्रेष्ठ थरका डाक्टरले हेरे । खाना नपच्ने र हिँडडुलमा समस्या थियो। कमजोरी महशुस हुन्थ्यो। उनले मलाई ग्यास्ट्रिक भएको निष्कर्ष निकाले । झण्डै १५ दिनको औषधि खाएर पुनः आउन निर्देशन दिए।
औषधि सकियो, शरीरमा समस्या झन् बढ्दै गयो। ज्यान शिथिल हुँदै थियो, आत्मबल घट्दै गयो। के गर्ने कसो गर्ने, केही उपाय सुझेन।