डेंगीका बिरामी बढेपछि चितवनमा रगत अभाव

तस्बिरः बिएल

डेंगीका बिरामी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेंगीका सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पुर्‍याउन कठीन भएको हो।

अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको उनले बताए। केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन सकेको छ।

सेतो रगतले प्लेटलेट निर्माणका लागि सहयोग गर्ने गर्दछ। डेंगी सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत रक्तदान गरेको छ घण्टाभित्र बनाई सक्नुपर्ने हुन्छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार जिल्लामा नियमित रक्तदान नहुँदा बिरामीको मागअनुसार रगत दिन नसकिएको हो।

पछिल्लो समय डेंगी सङ्क्रमित ८३३ पुगेपछि अझै थप समस्या देखिएको छ। न्यौपानेका अनुसार जिल्लामा सेतो रगतसँगै रातो रगतको पनि माग बढेको छ। जसका कारण नियमित रक्तदान गर्नका लागि सबैलाई आह्वान गरिएको छ।

अहिले रातो रगतको माग दैनिक ७० युनिट रहेको भए पनि ५० युनिट मात्रै पुर्‍याउन सकिएको उनले बताए। केन्द्रले चितवन, गोरखा, लमजुङ, तनहुँलगायतका १० जिल्लाबाट रगत सङ्कलनको काम गर्दै आएको छ।

डेंगीका बिरामी बढेपछि गाउँघरमा रक्तदानका कार्यक्रम पनि कम भएको छ।  रासस

 

 
प्रकाशित मिति: : 2019-09-07 16:22:05

प्रतिकृया दिनुहोस्