बिहान मात्रै मित्र सोमत घिमिरे भन्दै थिए, ‘के भएको छ नेपाली समाजलाई ? समाजको प्रत्येक सदस्य हिरो (नायक) को खोजमा छ । यो खोज कहिलेदेखि सुरु भयो ? कहिले सकिन्छ ? यो कसैलाई थाहा छैन ।’ हो, यति वेला नेपाली समाज नायकको खोजमा छ । सन् १९९९ मा एस शंकरले बनाएको ‘नायक’ सिनेमाको ‘हिरो’ जस्तो नायकको खोज । सन् १९९९ अघि पनि सिनेमाले धेरैलाई नायक बनाएको हो ।
धनीलाई लुटेर गरिबलाई बाँड्ने नायक धेरै देखिए सिनेमामा । तर, ती फर्मुला पुराना भए । त्यसमा जनताले खोजेका जस्ता नायक थिएनन् । सिनेमाले डाँकु र लुटेरालाई नायक बनाएर देखाउन थालेका थिए । लुट र डकैतीको वातावरणमा असली हिरो हरायो । यसैको विकल्पमा आएको थियो ‘नायक’ । अनिल कपुर बनेका थिए, टेलिभिजन रिपोर्टर शिवाजी । उनको भूमिका सहज थियो । उनले रिपोर्टिङ गर्दागर्दै राज्यको मुख्यमन्त्रीबाटै एकदिनका लागि मुख्यमन्त्री बन्ने र मुख्यमन्त्रीका भुक्तमान भोग्ने अवसर पाए ।
उनी एकदिनका लागि राज्यको मुख्यमन्त्री बने । त्यो एकदिनमा उनले पूरै समाजको पापमोचन गर्ने प्रयास गरेको अभिनय गरे । यस्ता सिनेमा रोचक हुन्छन्, टाइम पासका लागि । समय बितेको पत्तै हुँदैन । यस्तै सिनेमा हेरेर हुर्किएको नेपाली समाजका हिजो र आजका पुस्ता परिवर्तन चामत्कारिक रूपमा हुन्छ भन्नेमा विश्वास गर्छन् । समाजमा कसैले चमत्कार गरोस् । जनताले सजिलोसँग अलिकति मात्रै भए पनि सुख–सयलमा बाँच्न पाऊन् ।
दुनियाँमा नायक धेरै छन् । अझ, हाम्रो समाजमा त सहरका वडावडामा नायक छन् । चुनावको समयमा उम्मेदवारका रूपमा जति नायक देखिएका थिए, तीभन्दा कैयौँ गुना बढी नायक अहिले सामाजिक सञ्जालमा देखिएका छन् । इतिहासमा बाँच्ने र पुर्खाको गौरवमा रमाउने नेपाली जातिले धर्मको माध्यमबाट पनि चमत्कार नै सिकेका छन् ।
हिन्दूको धार्मिक परम्परामा केही रोचक कथा उनिएका छन् । त्यस्ता अधिकांश कथामा महादेवले पापी र अपराधी देख्नै नहुने, त्रिशूल उज्याएर प्रहार गरिहाल्ने । महाकालीले राक्षसको टाउको काटिहाल्ने अवस्थाको चित्रण छ । जालन्धरकी पत्नी वृन्दाको सतित्व नष्ट नगरी विष्णु भगवान्ले जालन्धरलाई पराजित गर्नै नसक्ने परिस्थितिको विवरण छ । वृन्दाको शक्तिसामु विष्णु भगवान्को अस्तित्व झारपातभन्दा बढी नहुने पनि देखाइएको छ ।
यही मेसोमा नेपाली समाज निरन्तर नायकको खोजमा लागेको छ । वि.सं. ०६३ को जन–आन्दोलनपछि अन्तरिम प्रावधानअनुसार देशमा संविधानसभाको चुनाव भयो । देश गणतान्त्रिक भयो । त्यतिले केही नहुने रहेछ । संविधानसभा निर्वाचित भएर मात्र पनि केही हुने रहेनछ । यो काम पूरा गर्न जनता लगातार नायकको खोजीमा लागे, जसले देशको संविधान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् ।