जतिनै उच्च शिक्षा हासिल गरे पनि आफ्नै मातृभाषामा भने कुनै प्रगति गर्न सकिन । रंगलाई ‘कलर’ र समयलाई ‘टाइम’ भन्नु नै सही र सजिलो लाग्ने अवस्थामा कहिले पुगेँ यादै भएन । कोठाभित्रको छतलाई ‘सिलिङ’ भन्नुबाहेक मलाई अर्को उपाय छैन । के भन्छ त्यसलाई नेपालीमा ? ‘दलिन’ भन्न मिल्छ कि ? नेपाली साहित्यका आधुनिक रचनाकारको रचनामा पनि ‘सिलिङ’ शब्दनै भेट्छु । त्यसको नेपाली शब्दनै नभएर हो कि अब ‘सिलिङ’ नै नेपाली शब्द भयो ? अझ विभिन्न साहित्यिक पुरस्कारले पुरस्कृत स्रष्टाको रचनामा यस्ता अंग्रेजी शब्दको नेपालीकरण नभेट्दा त अचम्मै लाग्छ । के साहित्य भनेको लेख्नेमात्रै हो ? कि जुन भाषामा लेखिएको छ त्यो भाषाको संरक्षण र शुद्धता पनि साहित्यको एक महत्वपूर्ण पक्ष हो ? सायद ममात्रै होइन हाम्रा प्रखर विद्वान् तथा साहित्यकारहरु पनि नेपाली शुद्ध बोल्न र लेख्न नसक्ने रोगबाट ग्रसित छन् । कि त्यस्तो ममात्रै हूँ ?
विद्यालयको पहिलो सम्झना ‘एबीसीडी ‘ पढेको आउँछ । ‘कखगघ’ कहिले पढँे याद छैन । अझै पनि ‘कख’ पूरै खरर भन्न धौ धौ पर्छ । ‘एबीसीडी’ त बच्चामै सिकेको । बुबाआमा पनि छोराछोरीले खरर ‘एबीसीडी’भन्दा खुसी र गर्वले दंग परेर नाकको फोहरा कम्ती फुलाउनु हुन्थ्यो ? अझ कहिलेकाहीँ त कोही पाहुना आउँदा ‘‘ए छोराछोरी यहाँ आऊ, ल ‘अंकल’सँग अंग्रेजीमा कुरा गर !’’ भन्ने अनि छोराछोरीले अंग्रेजीमा अलिअलि बोलिदिए त बाआमाको भुइँमा खुट्टै हुन्थेन । छोराछोरीले अंग्रेजी बोल्छन्, लेख्छन् र ‘बोर्डिङ स्कुलमा’ जान्छन् भन्नु कम गर्वको कुरा हुन्थेन र अझै पनि होला । अझ ‘बोर्डिङ स्कुलको’ त कुरै नगरौँ । स्कुललाई विद्यालय भन्दा पनि के नमिलेको जस्तो लाग्ने भइसक्यो । ‘स्कुल’ हाताभित्र नेपाली नै बोल्न नपाउने रे ! अनि नेपाली बोले ‘फाइन’ तिर्नु पर्ने रे ! अनि ‘फाइन’लाई नेपालीमा के भन्छ कुन्नि ? ‘जरिवाना’ भन्न मिल्छ कि ? अनि साना नानीहरुले शुद्ध नेपाली बोल्न चाहिँ कहाँ सिक्ने हो कुन्नि ? विद्यालयमा कि घरमा ? साथीहरुसँग कि टीभीबाट कहाँ सिक्ने ? कसले सिकाउँछ शुद्ध नेपाली बोल्न । लेख्ने त कुरै नगरौँ ।