मुलुकमा झन्डै दुई साता एउटा तमासा मञ्चन भयो। त्यसको रचयिता, निर्देशक, वितरक र केही हदसम्म समीक्षकसमेत राज्य नै थियो।
अस्तितिरको एक जमघटमा प्रधानमन्त्री कार्यालयका एक विशिष्ट भित्रियाले भनेको सुनियो–यो सबै पैसाको खेल हो। उनी रवि लामिछानेको समर्थनमा ३० हजार मानिसले चितवनको भुङ्ग्रे सडक तताएको विषयतर्फ इंगित गर्दै थिए। स्व–सिर्जित तमासालाई केन्द्रीय सत्ताले कसरी हेर्छ भन्ने देखाउँछ यो अभिव्यक्तिले।
सत्ताको अपरिमित शक्तिले एउटा दृष्टिदोष निर्माण गर्छ–हरेक चर्का, चम्किला विषयमा षड्यन्त्र र खतरा देख्ने। षडयन्त्रसँग पैसाको बल पनि परावर्तित हुन्छ, उनीहरुको बुझाइमा।
र, त्यो दृष्टिदोषबाट रसाउने अनेकन उप–तमासा विस्तारै देख्दै जान पाइएला। नेपाल यसै पनि रोचक ‘संक्रमण’ बाट गुज्रिरहेको छ। संक्रमणका हरेक नयाँ पहलुमा सामाजिक डाक्टरसाबहरूले नयाँनयाँ औषधि चलाउँदै जालान्।
यसो हुँदाहुँदै, एउटा प्रश्न त उब्जिहाल्छ। अहिले दुईतिहाई सरकारको समर्थनमा कति पैसा खर्च गरे चितवनमा ३० हजारको जुलुस निस्केला? समान संख्यामा जुलुस निकाल्न रवि र सरकारलाई लाग्ने खर्चको हिसाब अन्तर केलाउने विशेषज्ञ खोजे पाइन्छ कि? मात्रै एउटा ‘हाइपोथेसिस’!
OOO
पाँच लाख रुपियाँको थैलीमा चितवन अदालतले रविलाई रिहा गरिदियो। त्यति नगरे के हुन्थ्यो, अदालतलाई नै थाहा होला।
दस दिन थुन्दाका पनि केही उपलब्धी होलान्, राज्यको मूल्याकंनमा।
रविमाथिका आरोपलाई इजलासका शब्दले चाहिँ स्वीकारेका छैनन्। तर ‘तथापि’ भन्ने समुच्चयवोधक शब्द राखी उनलाई निर्दोष भनिहाल्न मिल्दैन भन्दै ५ लाखको थैली माग्ने बन्दोबस्त भने गरियो।
यस्तो पनि मानौं–आखिर, सम्माननीय अदालत पनि हाम्रै परिवेशका हुन्। यसैबमोजिम दुरुत्साहन नामक भाववाचक काण्डले समेत सबै खाले व्याख्या र तजबिजलाई सबै तहमा बाटो प्रशस्त गरेको हुनसक्छ।
डिठ्ठा परम्पराबाट हुर्कदैं, सामन्ति राज्य प्रणालीको बुहार्तन खेप्दै अनेकन रुपान्तरण नामी आरोहअवरोह भोगेको सम्मानित अदालतमा माथिल्लो जागिर खानका लागि केही निश्चित योग्यता अविच्छिन्न छन्। र, तिनको मूल्याकंन यस्तै ऐनमौकामा हुने होला।
यही भावबमोजिम आदेशमा अर्को पुरक निर्देशन आयो– रवि, तिमी अरु जे गरे। यस विषयमा कार्यक्रम चाहिँ नबनाऊ।
अभियोगको विषय त्यो कार्यक्रम थियो त? जे होस्, यसमा थप चर्चा नगरौं। यति मात्र नभनौं, अदालतले मेरो मानहानी नगर, विचाराधीन मुद्दामा दख्खल नदेऊ भन्नु परिरहँदैन। त्यो स्वतःसिद्ध, स्वतःबोध्य हो।
हामी सबै स्वतन्त्र, उच्च मनोबलयुक्त र सम्मानीय अदालतसहितको समाजको परिकल्पना गर्छौं। र, सम्मानीय अदालतको सबै आदेश शिरोपर हुनैपर्छ।
OOO
रविले रिहाइको भोलिपल्ट फेरि तातो चितवनलाई भुलुक्कै उमाले। उनको धन्यवाद भाषणले फेरि चर्चा पाएको छ। यसको मतलब, नेपाली जनताको ‘सुपरम्यान च्याम्पियनसिप’मा रविले ‘काउन्टर एट्याक’मा झन् सनसनीपूर्ण ‘स्कोर’ गरेका छन्। अब, जर्सी फुकालेर ‘सेलिब्रेसन’ हुँदैछ। तर, पहेलो कार्ड देखाउने रेफ्री मैदानमा देखिँदैनन्। यो अलिक फरक फम्र्याटको खेल हो।
अब रविले यो खेललाई राजनीतितर्फ मोड्दैछन् अरे। यसै पनि नेपाली जनता हरेक क्षण नायकको खोजीमा छ। दसचक्कर मारेर नेपाल फर्केका वाक–चतुर रविलाई यो कुरा थाहा छ।
जनतालाई त्राण छैन, उनीहरूको प्राण नै अपेक्षा हो, जुन पूरा गर्ने इच्छाशक्ति र क्षमता हाम्रो राजनीतिमा देखिएको छैन। यस्तो बेला समाजका विभिन्न तप्काबाट फुलटसमा छक्का मार्ने प्रयास हुन्छ। किनकि, संस्थापनबाट निराशा मात्र खेपिरहेको जमात नयाँ अनुहारको अलंकार र प्रहसनबाट सहजै आकर्षित हुन सक्छ।
यो तेस्रो विश्व परिवेशको एउटा सामान्य परिघटना हो। नहोस् पनि किन? यतिसम्म भइसक्यो कि निराशाबीच नेपाली जनता कति चर्का पीडा र कति गहिरा हिसाबलाई विस्मृतिमा ठेल्न विवश भइसके।
दरबार र दलबाट आजित जनतालाई प्रचण्डले हिंसात्मक आन्दोलनमा हेलेकै हुन्। केही नाम मात्रका परिवर्तन नै १५ हजार जनताको ज्यानको मूल्य हो भनेर उनले पुष्टि कदापि गर्न सक्नेवाला छैनन। उनलाई गोद लिएर सत्तासीन भएका केपी ओली त ठान्दै होलान, त्यो हिसाब पच भइसक्यो। शेरबहादुर देउवा यतिबेला सत्यनिरुपण आयोगमा कार्यकर्ता भर्तीको लोभका भरमा प्रचण्डसँग काँध मिलाउँदैछन्। जसले जे भनोस्, नेपाली सत्तादाउका क्रिश्चियानो रोनाल्डो देउवा नै हुन्।
अब रविले एउटा चरण पूरा गरेका छन्, उनले सञ्चारकर्मका धेरै सहिंतालाई धोती लगाइदिएको विषय पनि छायाँमा पर्न सक्ला। टेलिभिजन प्रस्तोताका रूपमा उनी अन्य कैयौं व्यावसायिक र कानुनी विषयबाट परीक्षित हुनुपर्नेमा आत्महत्या दुरुत्साहन नामक खोस्टे मुद्दाबाट पो अग्नि–परीक्षित भए। यसमा उनको क्षमता र चतुर्याइँको जति भूमिका छ, राज्यपक्षको दुश्चेष्टा र धुत्र्याइँको उति नै योगदान छ।