२०६६ को एउटा अनिदो बिहान । पश्चिमोत्तर सुदूरको पाहाडमा घामले राम्ररी पखेँटा फिँजाइसकेको थिएन । बासिविदो बसेजस्तो आकाशमा टम्म बादल बास बसेको थियो ।
एकजना दीनहीन बालिका, आफूजस्तै दुब्लो, भोक, रोगग्रस्त र शोकमग्न अनुहारको बालक पिठ्युँमा बोकेर घाम नझुल्कँदै प्रकाश सिंहको औषधि पसलमा आइन् । अहेव सिंह बाजुराको देवलसिङ स्वास्थ्यचौकीमा काम गर्थे । रोगले गाँजेका र स्वास्थ्य–संस्था पुग्न नभ्याउनेलाई लाभ पुगोस् भनेर घरमै ओखतीमूलो बेचबिखन पनि गर्थे । मुस्किलले ११ वर्षमा पैताला राखेकी ती बालिका बिहान घामले आँखा नउघार्दै उनको दैलामा आइपुगेकी थिइन् ।
साबिक बाह्रबीस गाविस, तिमाडा, हाल बूढीगङ्गा नगरपालिकाकी ती बालिका ‘टुहरी’ रहिछन् । वर्षेनी बच्चा जन्माउँदाजन्माउँदा गलितम् शरीरले पुन: बच्चा जन्माउन खोज्दा डेढ–दुई वर्षअघि आमाको सुत्केरी अवस्थामै प्राण निमोठिएको रहेछ ! आमाको प्राणपखेरू उडेको केही समयपछि हृदयघातले बाबुको पनि जीवनको दौडधूप टुङ्गिएपछि दुई भाइ (एकजना आठवर्ष र अर्को डेढ दुईवर्षका) र आफ्नैसमेतको अभिभावक बनेकी रहिछन्– सञ्जा धामी !
पिठ्युँमा बोकिएका बालकको अवस्था नाजुक थियो । कलेटी परेका ओठ बगरतुल्य सुख्खा थियो । शरीरमा हाडछालामात्र बाँकी हुँदो हो ।
पिँठ्युबाट ओह्रालेर प्रकाशले ती बालकको अवस्था नियाले । आउँले शरीर क्षीण तुल्याइसकेकाले बालक उभिनसक्ने हालतमा थिएनन् ।
प्रकाशले जाँचपड्ताल पश्चात् औषधि दिए । १६० रुपैयाँ भएको थियो । तर पैसा तिर्नेबेलामा अभावग्रस्त उनका आँखाबाट आँसु हाम फालुँलाझैँ गरे । ती बालिकालाई उपचार गरेपछि मूल्य भुक्तान गर्नुपर्छ भन्नेसमेत थाहा रहेनछ !
औषधोपचारको मूल्य सुन्नेबित्तिकै उनको अनुहार सोहोरियो । प्रकाशले ती बालिकाको अनुहारको सङ्गकटासन्न भाव बुझे ।
औषधिको पैसा त लिएनन् नै । आफूसँग भएको लुगाफाटोसमेत दिइपठाए । दुई भाइ च्यापेकी ती बालिकाको अभावग्रस्त अनुहारले प्रकाशलाई दिनभर पिरोलिरह्यो । राति निद्रामा पनि भयानक ऐँठन भयो ।
बालिकाको दीनहीन अवस्थाले भन्दा सुदूरको भू–खण्डको पीडाले उनको चित्त फाट्नुसम्म फाट्यो ।
भाइहरू च्यापेकी ती बालिकाको तस्बिर प्रकाशले कैद गरेका थिए । दीनहीन अवस्थाले मन थामिएन । उनले समाचारको रूप दिएर बाजुराबाटै प्रकाशित हुने ‘मालिका टाइम्स’ साप्ताहिकलाई दिए ।
लगत्तै अर्को हप्ता समाचार प्रकाशित भयो । प्रकाशले समाचारको ‘तागत’ अनुमान गरेका थिएनन् । चित्तशान्ति गर्न समाचारको सहारा लिएका थिए । तर परिणाम सुखद् रह्यो । बाह्रबीस गाविसले करिब १० हजार रुपैयाँ सहयोग गर्यो ।
बालिकाको गरिबी केही दिनका लागि ओझेल पर्यो । कयौँ छाक तात्न नपाएको चुह्लोमा सामलतुमलको जुगाड भयो । दुई–चारदिनकै लागि सही, ती टुहुरा लालाबालाको पेटमा तातो पर्यो ।
यो घटनाले स्टेथेस्कोप समाइरहेका प्रकाशको दिमागमा जादुयी तरङ्ग ल्यायो ।