क्यानेडियन सप्ताहन्त : नेपाली भए झन् व्यस्त

क्यानेडियन सप्ताहन्तमा नेपालीलाई व्यस्त बनाउने केही कार्यक्रम झलकहरू । माथिल्ला दुई तस्बिर : राम के. मोक्तान

उत्तर अमेरिकी चलन हो– सातामा पाँच दिन काम, दुई दिन आराम । अर्थात्, शनिवार र आइतबार छुट्टी । क्यानडाको टोरन्टो क्षेत्र बस्ने नेपालीका लागि भने यसपल्ट छुट्टीका यी दुई दिन ‘झन् व्यस्त’ भए ।
एउटा दिवसले टोरन्टो क्षेत्रका आदिवासी जनजातिलाई एकैथलोमा जुटायो । तीजको रौनकले नेपाली डायस्पोरालाई नचायो । नेवारी समुदायको ‘समयबजी’ले धेरैको जिब्रो रसायो । ‘सिर्जनशिल नेपाली समाज’ले स्कार्ब्रो ततायो । कहाँ के के भयो, विस्तृतमा पढ्नुस्- 

‘सिर्जनशिल’को सिर्जनशिलता 

‘केही फरक गर्ने’ सोचेर खुलेको नेपाली संस्था ‘सिर्जनशिल नेपाली समाज’ले आइतवार स्कारब्रोमा त्यो फरक गर्न चाहेको छनक देखायो । कार्यक्रम अहिले सबैतिर मनाईंदै आएको तीज पर्वबारे थियो । तीज सुन्नसाथ एकै लाग्छ– रातो पहिरन, चुड्के गीत, टन्न खानपिन ।

सिर्जनशिलको कार्यक्रममा पनि यी तिनै थोक थिए तर अन्तिममा मात्रै । त्यसअघि बिशेष गरी दोस्रो पुस्ताका धेरै जना नानीबाबु र किशोर किशोरीले अतिथि सामु फरक फरक नृत्य देखाएका थिए । परदेशमा हुर्के बढे पनि दोस्रो पुस्तालाई यसरी प्रत्यक्ष सहभागी गराएर तीजका कार्यक्रम बिरलै हुन्छन् । 

परदेशमा नेपाली चाडपर्व मनाउँदा त्यसको महत्वबारे त्यहाँका अगुवालाई जानकारी दिनसके अर्थपूर्ण हुने सोचेर आधा दर्जन क्यानेडियन अतिथि बोलाइएको थियो । त्यसमा सिटी काउन्सिलर, सांसददेखि मन्त्रीसम्म थिए । 

उनीहरुलाई मञ्चमा राखेर नेपाली पर्वबारे मन्थन गर्दा क्यानडामा नेपाल र नेपालीको महत्व बढ्ने आयोजकको अपेक्षा छ । समाजका अध्यक्ष शिशिर पाण्डेले भने, ‘तीजबारे क्यानेडियन अतिथिसामु यसरी कार्यक्रम गर्नसक्नु यहाँको नेपाली डायस्पोराका लागि राम्रो हो, हामीले यसपल्ट सफलतापूर्वक गर्यौं ।’

आदिवासी अन्तर्किया

तस्बिर : राम के. मोक्तान 

टोरन्टो बस्ने नेपाली आदिवासी जनजाति समुदायका दर्जनौं नरनारी आइतवार मिसिसागास्थित मेडोवेल पार्कमा भेटिए । प्रायःले आफ्नो पहिचान झल्कने जातीय पहिरन लगाएका । सन्दर्भ थियो– ‘२५ औं अन्तरार्ष्ट्रिय विश्व आदिवासी दिवस’ । आयोजक थियो– ‘नेपाल जनजाति महासंघ क्यानडा’ । 

अमेरिकाको मिचिगन युनिभर्सिटीका प्राध्यापक महेन्द्र लावतीको उपश्थितिमा अन्तर्किया गरेपछि पार्कमा नृत्य र झाँकी देखाइयो । त्यसक्रममा राई, लिम्बू, नेवार, भोटे, गुरुङ, मगर, देशार, तामाङ, शेर्पा आदि समुदायका तर्फबाट जातीय पहिरनमा लोभलाग्दो प्रस्तुति गरियो ।

संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो समुदायको पहिचान महत्वपूर्ण हुने उल्लेख गर्दै अन्तर्कियाका सहभागिले त्यो पहिचान जोगाइराख्न जस्तोसुकै चुनौतीको सामना गर्नुपर्नेमा जोड दिए । महासंघ अध्यक्ष बीरकाजी गुरुङले भने, ‘यस्ता कार्यक्रमले आफू हुनुको गर्वबोध हुन्छ ।’ 

संगीतमय ‘समयबजी’ 

तस्बिर : राम के. मोक्तान 

मञ्चमा शास्त्रीय नृत्य । स्टलमा परम्परागत खाना । नेवारी चाडपर्वको झल्को । सांगीतिक माहोलमाझ खानपिन । शनिवार यस्तो अवसर जुराएको थियो– ‘क्यानेडियन नेवाः गुठी’ले । ब्राम्प्टनस्थित चिङ्गाएकसी पार्कमा केहीबेर भएपनि पाटनको नेवारीपन झल्कियो । सहभागीले यस्तै महसुस गरे । 

गुठीमा आवद्ध नेवारी समुदायका नरनारी त भैहाले, टोरन्टो क्षेत्रका अरु थुप्रै नेपाली ‘समयबजी’मा सहभागी भए । नेवारी समुदायको आधिकारिक खानामध्येको एक हो– ‘समयबजी ।’ गुठीले टोरन्टो क्षेक्रमा बर्षेनी यस्ता कार्यत्रम गर्दै आएको छ, जसले परदेशमै बसे पनि स्वदेशको तिर्सना मेटोस् । 

हरेक बर्ष मनाइने ‘समयबजी’ पर्वले नेवार समुदाय मात्र होइन, अरु समुदायका नेपालीलाई पनि एकैथलोमा भेला हुने अवसर जुरायो । छुट्टीका दिन सांगीतिक माहोलमा नेवारी परिकार खाँदै भलाकुसारी गर्न पाउनुलाई धेरै नेपालीले ‘सम्झनलायक समयबजी’ भनेका छन् । 

तन्नेरीमय तीज 

कर्मथलो जहाँसुकै होस्, मन त नेपाली न हो । अघिल्ला बर्षजस्तै यसपल्ट पनि क्यानडाको नेपाली समुदायलाई तीजले झुमाएको छ । शनिवारै ब्राम्प्टनको ‘बोभियर्ड ब्याङ्क्वेट’ नेपालीमय संगीतमय बन्यो । तीजको कार्यक्रममा तन्नेरी पुस्ताको उपश्थिति बाक्लो थियो । 

सहभागी बढाएर कार्यक्रम व्यवस्थित पार्न यसपल्ट केही फरक गर्ने प्रयास गरेको देखियो । कार्यक्रम अन्तिमतिर पुग्दा तीज गीतमा कम्मर मर्काउन पुरुष पनि थपिए । रातो पहिरनमा उपश्थित महिला त सुरुबाटै नाच्ने भैहाले । तन्नेरीको उत्तिकै घुईंचो । बर्षमा एकपल्ट आउने रौनकपूर्ण माहोल न पर्यो । 

‘क्यानेडियन नेप्लिज हेरिटेज सेन्टर’द्वारा आयोजित कार्यक्रम साँझ ६ बजेदेखि मध्यरातसम्मै चल्यो । रहर होस् वा बाध्यता, जे कारणले देश छोडे पनि नेपाली चाडपर्व यसैगरी खुलेर मनाउन मनपर्ने उल्लेख गर्दै कार्यक्रमका सहभागीले यसलाई अझ मौलिक बनाउँदै लैजाने बताए । 

यसअघि नै ‘नेप्लिज क्यानेडियन महिला चौतारी’ले ब्राम्प्टनमा तीज कार्यक्रम सम्पन्न गरिसकेको छ ।

‘नेप्लिज क्यानेडियन वुमन्स एशोसिएसन’ले पनि भव्य गरी शनिवार तीज पार्टी सम्पन्न गरेको छ ।

प्रकाशित मिति: : 2019-08-26 08:29:35

प्रतिकृया दिनुहोस्