“दुई डुङ्गामा खुट्टा राख्दा तर्न गाह्रो हुन्छ,” साहित्यकार राजन मुकारुङ ०७२ वैशाख ४ गते एक कार्यक्रममा आफ्नै सहयात्रीलाई व्यङ्ग्य कस्दै थिए, “तरे त राम्रै हो, तर म यसमा खतरा धेरै देख्छु ।” राजनले व्यङ्ग्य कसेका ती व्यक्ति थिए उपेन्द्र सुब्बा । उपेन्द्रको कथासङ्ग्रह ‘लाटो पहाड’ विमोचनका क्रममा ‘एउटा लाइन’मात्रै समात्न राजनले दिएको सुझाव थियो यो ।
विशेषगरी नेपालको पूर्वी भेगका आदिवासी लिम्बू समुदाय र मुन्धुम संस्कृति उनको लेखनको आधारभूमि हो । त्यसकै जगमा टेकेर मानवीय संवेदना र सामाजिक चेतसहितको उनको ‘लाटो पहाड’मा भुइँमान्छेहरुको जीवन, मनोविज्ञान र दुर्दशा चित्रित छ । उपेन्द्रले यही कथासङ्ग्रहबाट ०७१ सालको पद्मश्री साहित्य पुरस्कारसमेत प्राप्त गरे ।
लेखनसँगै उपेन्द्रको नाम कलाकारितामा पनि जोडिन्छ । ‘कबड्डी’मा उनले ‘झाँक्री’को भूमिकामा दमदार अभिनय गरेका छन् । उपेन्द्रले यो भूमिका निर्वाह गरेपछि कलाकारका रुपमा पनि उनको छबी बन्यो ।
त्यसो त उनी ‘स्क्रिप्ट राइटर’ पनि हुन् । चलचित्र ‘कबड्डी’का सबै सिरिज र ‘तान्द्रो’को स्क्रिप्ट उनैले लेखेका हुन् । ‘कबड्डी’मा भने उनले रामबाबु गुरुङसँग सहकार्य गरेका थिए ।
कविता सुनाउन अहिले बेलायत पुगेका उपेन्द्रका ‘गड्तिरको राँके भूत’ र ‘डाँडामाथिको घामजुन’ कवितासङ्ग्रह प्रकाशित छन् । कविता लेख्नुअघि उनले गीतमा पनि कलम चलाएका थिए । ‘जीवन आखिर के नै हो र...’ धेरैले रुचाउने उनको गीत हो ।
० ० ०
अहिलेका चल्तिका अभिनेता दयाहाङ राईको समय प्रायः ‘एक्सन–कट’मै बित्छ । तर भ्याएसम्म उनी साहित्यिक कार्यक्रम छुटाउँदैनन् । साहित्यकारसँग उनको चिनजान पनि बाक्लै छ । अभिनयमा अब्बल भएपछि उनको साहित्यकारसँग चिनजान भएको चाहिँ होइन । पुरानै चिनजान हो उनको । यो बुझ्न अघिल्लो दशकतिरै फर्किनुपर्छ । भोजपुर थातथलो भएका दयाहाङ सानैदेखि साहित्यमा रुचि राख्थे । कथामा उनको विशेष झुकाव थियो । साहित्यका किताब खोजी–खोजी पढ्थे ।
कथा लेख्न रुचाउँथे, लेखे पनि । कथा लेख्न उनलाई शिक्षकहरूले हौस्याउँथे । उनी स्मरण गर्छन्, “म कथा लेख्नकै लागि जन्मिएको हुँ झैं लाग्न थालेको थियो स्कुलमा पढ्दाताका ।” बाल्यकालमा पढेका दन्त्यकथा र लोककथाका चरित्रहरूलाई लिएर त्यस्तै अर्को कथा लेख्न मन पथ्र्यो उनलाई ।
तर उनले पढेका अधिकांश कथाका विषयवस्तु सहरका हुन्थे । उनी थिए गाउँका । गाउँका कथा सहर पुगेर सकिन्थे । उनको मनमा एउटा प्रश्न सधैं उठिरह्यो– गाउँका कथा गाउँमै किन सकिँदैन ?
गाउँका कथा गाउँमा बसेर मात्रै लेखिँदैन । लेखे पनि त्यो पूर्ण कथा हुँदैन । कथामा सहर पनि मिसिनुपर्छ । तर उनी गाउँमा थिए, सहरको स्वरुप पनि देखेका थिएनन् । थिए त केवल कथा र उपन्यासमा ।
लाग्यो– कथा लेख्न पनि सहर जानुपर्छ । नगबेली डाँडाहरु छिचोलेर सहर पुगेपछि मात्रै कथा पनि छिचोलिन्छ । र, सोचेजस्तै अब्बल कथा जन्मिन्छ ।
एकातिर कथाको विषयवस्तु खोज्दै सहर जाने हुटहुटी अर्काेतर्फ माओवादी द्वन्द्वले गाउँमा बस्न नसक्ने परिस्थिति । ०५८ सालको एक दिन कथा लेख्ने कल्पनामा उनी सपनाको सहर काठमाडौंको बस चढे ।
साहित्यप्रति रुचि त उत्तिकै थियो । उनी साहित्यकारको घेराभित्र छिर्न थाले । कवि, लेखकहरूलाई भेट्न थाले । साहित्यिक पुस्तक–विमोचनमा जान थाले । सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुन थाले । गीति एल्बम विमोचन–समारोहमा पुग्थे । उनलाई यस्ता कार्यक्रमको वातावरण खुब मन पथ्र्यो ।
साथीसङ्गत पनि कला–साहित्यभित्रै हुन थाल्यो । नियमित भेटघाट र उठबस् कलाकार र कलाप्रेमीहरूसँग नै हुन थाल्यो । कवि, कलाकारहरूसँग जब उनी भेट्थे, तब ‘मैले जानेको लेख्ने हो र लेख्नुपर्छ’ भन्ने मनमा लाग्थ्यो ।
साथी सर्कलको घेरो फराकिलो थियो । साहित्य र कलाका साथीहरु थुप्रै थिए । प्रज्ञा–प्रतिष्ठानमा नाटक–महोत्सव भइरहेको थियो । उनी त्यहाँ नाटक हेर्न गए ।
दयाहाङलाई नाटक मन पर्यो । नाटकको नियमित दर्शक भए । अर्को साल पनि उनी नाटक–महोत्सवमा गए । नछुटाइ नाटक हेरे ।
नाटकले उनको मस्तिष्कमा रहेको साहित्यकार बन्ने सपनाको घर भत्काइदियो । उनले गमे– मैले सोचेजस्तो छैन कथा र पुस्तक लेख्न । उनलाई लाग्यो, “मेरा लागि नाटक हो । म नाटक लेख्न र निर्देशन गर्न सक्छु ।”