चर्काचर्की र झर्काझर्कीले सदनमा संकट आएको थियो । सत्तामा बस्ने भत्तावाला भन्थे, “आकाशको तारा झार्ने र आकाशको स्याउ मुखमा पार्ने ह्याउ नभए बंगाारा झारिदिउँला ।”
जनता भन्थे, “काम गर्नेलाई फुलौरा, नगर्नेलाई लौरा दे !”
उनीहरू ‘नसक्ने चोर कुर्सी छोड् !’ पनि भन्थे ।
यस्तै हुँदै थियो सभामा । सदन संरक्षकले एउटा कागजको खोस्टो अध्यक्षलाई दियो र गयो । अध्यक्षले शून्य समयमा सुनाएपछि सदनमा सनसनी फैलियो । त्यो कागजको टुक्रोमा टिपिएको थियो, “सदनभित्र कोही सांसद नकटो छ ।”
‘संसद्भित्र नकटो सांसद’ सुन्नेबित्तिकै सबै मुखामुख गर्न थाले । एक–अर्काका नाक हेर्दै आफ्नो राम्रो भन्दै धाक दिन थाले । सदनमा त फुच्चेको नाकसमेत चुच्चे थियो । बुच्चे त छँदै थिएन । कसैको नाक कोहीभन्दा कम थिएन । नकटोको आक्षेप लागेकाले एउटा थ्याप्चो नाक भएको बापत्तीजस्तो सांसदले नियमापत्ति ग¥यो ।
अध्यक्षले भने, “यो पर्चा यताबाट हैन, जनताबाट आएकाले ‘म नकटो छैन’ भन्ने प्रमाणित सबै सांसदले गर्नुप¥यो । यो नियमभित्रकै कुरा हो, नियमापत्ति भन्न मिल्दैन ।”
सांसदहरूको दिमाग गुम भयो । एउटा सांसदले अध्यक्षलाई प्रश्नको पर्रा छोडे, “अध्यक्ष महोदयले नै को नकटो छ भनिदिनुप¥यो ताकि नकटोलाई निकालेर अरू बाँच्न सकियोस् । एउटा कुहिएको आलुले बोराभरिको आलु बिगार्छ । नेता चालू भए आलुजस्तै सबैको तालु खुइल्याउँछ ।”
अध्यक्षले भने, “प्रश्न साह्रो छ, यो भन्न गाह्रो छ । त्यसैले नकटोले आफ्नो नाक आफैंले छामेर भने भइहाल्छ ।”
प्रश्न आयो, “आफूलाई नकटो भनाउन को चाहन्छ ?”
अलि चुच्चे नाक हुने नाक फुलाउँदै थियो, “मेरो नाक त तीखो छ ।”
अलि मोटो नाक हुने मख्ख पर्दै थियो, “मेरो नाक कोहीभन्दा कम छैन ।”
अलि लामो नाक हुने मनमनै गम्दै थियो, “मेरो नाक नकटो हुनै सक्दैन ।”
आखिर आफूलाई नकटो भन्न कोही पनि तयार भएनन् । एउटा सांसदले बडो बुझेझंै गरी भन्यो, “नकटो त पहिलेको माननीय हुनुपर्छ ।”
अर्कोले भन्यो, “पहिला त सबै नाकै नभएका थिए, नकटोको प्रश्नै आउन्न ।”
फेरि अर्को सांसदले भन्यो, “अध्यक्ष महोदय ! पहिलेका पनि त यहाँ आएका छन् ।”
सबैले पुराना सांसदतिर दृष्टि दिए । पुराना माननीयको नाक त झन् सिंगौरी खेल्ने सिङझैं तीखो थियो । कसै–कसैको त अझ चिल्लो पनि थियो ।
अध्यक्षले भने, “माननीयहरूले यसको अर्थ आफैं लगाउनु प¥यो ।”
सांसद चड्क्यो, “सबैको अर्थ हामीले नै लगाउने ?”
अध्यक्ष— “सांसदको आसन नै भाषण गर्ने प्रकारको छ । भाषणकै एउटा शीर्षक ‘नेता र नकटोको नाक’ भित्र यो पनि पर्छ ।”
सांसद– “हामी आफ्नै विषयमा मात्र भाषण गर्छौं, त्यो पनि चुनावमा मात्र । जनताको विषयमा हरदम भाषण गर्ने ठेक्का हाम्रो होइन । यसको जिम्मा पदमा बस्ने मन्त्री महोदयको हो, जो जुनसुकै समारोहमा जान्छ र सबै विषयमा भाषण गर्न अघि सर्छ । त्यसैले ‘नकटो नायक’को विषय जुन मन्त्रीको विषयमा पर्छ, उसैले बोल्नुप¥यो ।”
एक सांसद जुरुक्क उठेर खुरुक्क भन्न थाले, “यो विषय नाकसँग सम्बन्धित भएकाले यो डाक्टरी विषय, स्वास्थ्यमन्त्रीको हो ।”
अर्को सांसद झर्को मान्दै भन्न थाले, “‘नाक भएको मान्छे’ र ‘नाक काटिएको मान्छे’ भन्ने कुरा भाषामा पर्ने भएकाले यो विषय शिक्षा र संस्कृतिको हो ।”
रोस्टममा शिक्षामन्त्री उभिए र चर्कन थाले, “म त यसको अर्थमात्र भन्न सक्छु । नकटो भनेको नाक काटिएको भनिएको हो । नेप्टो नाक भएकालाई पनि नकटो भन्छन् । यसको लाक्षणिक अर्थ अमर्यादित बोली व्यवहार भएको भन्ने लाग्छ, अर्थात् नकच्चरो, निर्लज्ज व्यक्ति । अझ गहिरिएर भन्ने हो भने छाँट नमिलेको बेछाँटको अर्थात् छकटो, नेप्टो र नकच्चरो, छाँट नमिलेको र उत्ताउलो । तर, कतिसम्म नाक नभएकोलाई नकटो भन्यो भन्ने यो नापजोखको कुरा भएकाले मेरो विषय हैन । यो विषय कसको अन्तर्गत पर्छ ? माननीयहरूले नै बताइदिनुपर्यो ।”