एक्लोपनाको भावबाट गुज्रिरहेका मानिसहरु दुःखी मात्र हुँदैनन्, अस्वस्थ पनि हुन्छन् र समय अगावै मर्छन् । विशेषगरी सहरी क्षेत्रलाई एक्लाहरुको वासस्थान भनिन्छ जहाँका मान्छेहरु छरछिमेकसँग बोल्न, नजिक हुन चााहेपनि त्यस्ता ज्यादै कम अवसर हुन्छन् । यसमा पनि सबैभन्दा बढी, युवाहरु समाजबाट टाढिएको महसुस गर्ने गर्दछन् ।
त्यसैले धनी देशका डाक्टर र नीति निर्माताहरु एक्लोपनाका बारेमा बढी नै चिन्तित रहँदै आएका छन् । यसअघि बेलायत, डेनमार्क र अष्ट्रेलियामा यो समस्या समाधानका लागि थुप्रै अभियान समेत चलाइएको थियो । त्यस्तै गतवर्ष जापानमा पनि सरकारले आफूलाई घरमा बन्द गरेर राख्ने ‘हिकीकोमोरी’ हरुका बारेमा अध्ययन थालेको हो । यस्तोमा अमेरिकी सर्जन जनरल, विवेक मुर्थिले एक्लोपनालाई महामारी भनेर व्याख्या गरेका छन् र यसले प्रत्येक दिन १५ वटा चुरोट पिउँदा सरह स्वास्थ्यमा असर गर्ने गरेको उनले बताए । त्यस्तै गत जनवरीमा मात्र बेलायतकी पूर्वप्रधानमन्त्री थेरेजा मेले एक्लोपनाको निवारणका लागि मन्त्री समेत नियुक्त गराएकी थिइन् । यसरी एक्लोपनाको समस्या बढ्दै गएकाबारे सबैलाई थाहा छ तर यस रोगको प्रकृति र सिमाबारे धेरैलाई ज्ञान हुँदैन । जस्तै मोटोपनाको समस्यालाई मापन गर्न सकिन्छ तर भावनाको तौलिन सकिँदैन । यस्तोमा अनुसन्धानकर्ताहरुले सबैभन्दा पहिले एक्लोपनासँग सम्बन्धित अवस्थाहरु पहिचान गरेका हुन् । तिनका अनुसार एक्लोपना भन्नाले व्यक्ति आफ्नो परिवार साथीसँग कत्तिको अन्र्तक्रिया गर्छ वा कति जना नयाँ मान्छेसँग भेट्छ भन्नेसँग मात्र सम्बन्धित छैन । उनीहरुले एक्लोपनालाई आफूले चाहेअनुरुप सामाजिक अन्तरक्रिया गर्न नसकिरहेको भावना भनि व्याख्या गरेका छन् ।
हो एक्लै बस्ने बानी भएकाहरुमा एक्लोपनाको समस्या देखा पर्ने सम्भावना बढी छ तर यो अवस्था घरपरिवार र साथीभाइको पर्याप्त साथ पाइरहेकाहरुलाई पनि हुन सक्छ ।
अमेरिकी मनोविश्लेषक जोन केसीकोप्पोका अनुसार प्राचीन समयमा यदि हामी समुहमा हुँदा एक्लो स्वभावका थियौँ भने हामी ठूलो बेफाइदामा हुने थियौँ । र आजपनि यो भावनालाई लामो समयसम्म त्याग्न नसके, यसले समस्या नै गराउँछ । यसबीच कति मान्छेले यस प्रकारको भाव महसुस गर्छन् भन्ने पत्ता लगाउन द इकोनोमिस्ट र एउटा गैरलाभकारी अमेरिकी समूह केइसर र्यामिली फाउन्डेसन, केएफएफ, ले राष्ट्रिय स्तरमा तीज देशका मान्छेहरुको स्वास्थ्य सम्बन्धी डाटाका स्याम्पल अध्ययन गरेको हो । यसमा जापानका ९ प्रतिशत वयश्क, अमेरिकाका २२ प्रतिशत र बेलायतका २३ प्रतिशत मानिसले प्रायः वा सधैँ एक्लो महसुस गर्ने गरेको वा आफ्नो साथमा कोही नभएजस्तो आभास गर्ने गरेको अनुसन्धानमा पत्ता लागेको हो । यसमा सहभागीहरुलाई स्वास्थ्य सम्बन्धी विभिन्न स्तरका प्रश्नहरु सोधिएको थियो जसको जवाफमा धेरैले, आफूसँग कुरा गर्ने कोही नभएको, सधैँ आफूलाई कसैले बोलाउँछ कि फोन गर्ला की भनेर पर्खिरहने गरेको भन्ने जस्ता जवाफ दिएका थिए ।
२०१० मा प्रकाशित एउटा रिपोर्टमा भने ४५ वर्ष भन्दा माथिका ३५ प्रतिशत अमेरिकीहरु एक्लो महसुस गर्ने दाबी गरेको थियो जसमध्ये ४५ प्रतिशतले पछिल्लो ६ वर्षदेखि यस्तो अवस्था भोगिरहेको बताएका हुन् । त्यस्तै एज युके च्यारिटीका अनुसार बेलायतमा ६५ वर्ष उमेर कटेका ४१ प्रतिशतको साथी अधिकांश समय घरपालुवा जनावर वा टिभी हुने गर्दछ । त्यस्तै सरकारी रिपोर्टअनुसार जापानमा पाँच लाख भन्दा बढी मानिसहरु कम्तीमा पनि वर्षको ६ महिना घरैमा बसेर बिताउने गर्दछन् । त्यस्तै अर्को राष्ट्रिय अध्ययनमा भने १५ प्रतिशत जापानीहरुले नियमित एक्लै बसेर खाने गरेको देखाएको छ । एक्लोपना सम्बन्धी ऐतिहासिक डाटा हेर्दा मानिसहरुमा अलगवाद बढेसँगै एक्लोपनाको भाव पनि बढ्दै गएको देखिएको छ । जस्तै युरोप, अमेरिका वा जापान सबै विकसित देशहरुमा पहिलेको तुलनामा मान्छेहरु विभिन्न कारणवश् एक्लै बस्नुपर्ने अवस्थामा छन् । विशेषगरी आत्मनिर्भरता र स्वतन्त्र जीवनको चाहानामा शहरमा एक्लै बस्ने प्रवृत्ति बढ्दै गएको पाइएको छ । त्यस्तै अर्को कारण भनेको आफ्नो पार्टनरको मृत्यु भएका वा डिभोर्स भएकाहरु पनि एक्लै बस्न बाध्य हुने गर्दछन् । यसरी सामाजिक जीवनले व्यक्तिमा पार्ने प्रभावको एउटा उदाहरण, विश्वकप फुटबलको समयमा आत्महत्याको दर अत्यन्तै कम रहनु हो ।
तर एक्लोपना र स्वास्थ्यका बीचको सम्बन्ध पत्ता लागेको भने धेरै भएको छैन । २०१५ मा मात्र ब्रिङ्घम योङ युनिभर्सिटीका अनुसन्धानकर्ताले ७० पानाको विश्लेषण सार्वजानिक गरेका थिए जसमा ३४ लाख सहभागीहरुलाई सात वर्षसम्म अध्ययन गरिएको थियो । यसमा एक्लो महसुस गर्नेहरुको असामयिक मृत्यु हुने सम्भावना २६ प्रतिशत उच्च रहेको पाइएको हो भने एक्लै बस्नेहरुमा झन ३२ प्रतिशत खतरा रहेको पाइएको हो । यसमा सबैको उमेर र स्वास्थ्य अवस्थालाई पनि ध्यानमा राखिएको थियो ।