बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय सिरिज श्रीलंकालाई

तस्बिरः एजेन्सी

कोलम्बो । श्रीलंकाले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

कोलम्बोमा आइतबार भएको दोस्रो खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै घरेलु टोली श्रीलंकाले एक खेल अगाबै सिरिज २-० ले जितेको हो ।

प्रेमादासा क्रिकेट स्टेडियममा बंगलादेशले दिएको २३९ रनको लक्ष्य श्रीलंकाले ४४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो।

श्रीलंकालाई जिताउन अभिस्का फर्नान्डोले ८२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एञ्जेलो म्याथ्युजले अविजित ५२ रनको योगदान दिए। कुशल मेन्डिसले अविजित ४१ रन जोड्दा कुशल परेराले ३० रन जोडेका थिए।

बंगलादेशका मुस्ताफिजुर रहमानले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

बंगलादेशका लागि मुस्फिकर रहिमले अविजित ९८ रन जोड्दा हसन मिराजले ४३ रन बनाएका थिए।

श्रीलंकाका लागि नुवान प्रदीप, इसुरु उडाना र अकिला धनन्जयले २/२ विकेट लिए।

यसअघि पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ९१ रनले हराएको थियो। अब दुईबीचको अन्तिम तथा तेस्रो खेल बुधबार हुनेछ।

प्रकाशित मिति: : 2019-07-29 07:15:23

प्रतिकृया दिनुहोस्