‘राजनीति नगर्ने’ भने पनि क्यानडामा नेपालीमूलका संघ-संस्थामध्ये बढी ‘राजनीति हुने’ ठाउँ ‘गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडा’ नै हो ।
नहोस् पनि किन, यही संस्थामा सबैभन्दा धेरै नेपालीमूलका मानिस आवद्ध छन् । जहाँ नेपाली, त्यहाँ राजनीति त हुने भैहाल्यो । स्वीकार्नु नस्वीकार्नु अलग कुरा ।
राजनीति धेरै, काम थोरै भएकैले एनआरएनएप्रति पहिलेझैं आकर्षण छैन । क्यानडामा मात्र होइन, प्रायः सबैतिरका एनआरएनएमा पदमा पुग्न मरिहत्ते गर्ने, पुगेपछि ठोस काम नगर्ने प्रवृत्ति व्याप्त छ ।
अघोषितरुपमा नेपाली दलकै कार्यकर्ता भएर विदेशमा राजनीति गर्ने थलो बनाईंदा एनआरएनएको छबि बिग्रिएको हो । त्यसमाथि कतिपयले व्यक्तिगत फाइदाका लागि प्रयोग गरेकाले पनि गरिमा घटेको हो ।
यो संस्थामा गुट-उपगुट र शक्ति संघर्ष अधिक हुन्छ । अमेरिकामा त्यस्तै ‘लडाईं’ बीच भरखरै नयाँ नेतृत्व चयन भयो । अस्ट्रेलियामा पनि त्यस्तै भयो । अरब राष्ट्रहरुमा हुँदैछ । बेलायतमा नयाँ नेतृत्वनिम्ति महाभारत मच्चिएको खबर छ ।
किनकि, दसैं-तिहारबीच अर्थात् अक्टोबर दोस्रो साता नेपालमा एनआरएनए ग्लोवलको नवौं विश्व सम्मेलन हुँदैछ । त्यो सम्मेलनमा प्रतिनिधि भएर जाने पदाधिकारीसमेत चयन गर्नुपर्ने भएकाले एनआरएनएका शाखा हुने धेरैजसो राष्ट्रमा सर्वसम्मति कम, रस्साकस्सी बढी छ ।
यसबर्ष एनआरएनए क्यानडामा शक्ति संघर्ष धेरै देखिँदैछ । स्थापनाको १२ बर्ष पूरा हुनैलाग्दा एनआरएनए क्यानडा जति धेरै बलियो र भरोसाको केन्द्र बन्नुपर्ने हो, त्यो हुन सकेको छैन । जसको एउटै कारण छ– संस्थाभित्र गुट र उपगुट धेरै हुनु, सामूहिक भावनाको चाहिँ कमी रहिरहनु ।
यही अगष्ट १७ मा हुने अधिवेशनले फेरि आगामी दुईबर्षे नेतृत्व चयन गर्नेछ । अधिवेशन पूर्वसन्ध्यामा एनआरएनए क्यानडामा के के भद्रगोल छ ? किन यस्तो भइरहन्छ ? अब के के हुन्छ ? जान्न चाहनुहुन्छ भने पढ्नुस् ‘ब्रेक एण्ड लिंक्स’ले तयार पारेको २३ सवाल जवाफ ।
१, के हो एनआरएनए क्यानडा ?
सन् २००३ मा स्थापना भएको ‘गैरआवासीय नेपाली संघ (एनआरएन)’ लाई छाता संगठन मान्ने गरी सन् २००७ मा ‘एनआरएनए क्यानडा’ गठन भएको हो । यो क्यानडामा बसोबास गर्ने नेपालीमूलका मानिस आवद्ध हुनसक्ने गरी खोलिएको गैर–नाफामूलक संस्था हो ।
२, एनआरएनए क्यानडामा कति सदस्य छन् ?
बिगतमा तीन हजारभन्दा बढी सदस्य पुगे पनि यसबर्ष दुई हजार तीन सय ५७ मात्र छन् । स्वयं एनआरएनए क्यानडाले ‘यो देशमा नेपालीमूलका मानिसको संख्या ४० हजारभन्दा धेरै छ’ भन्दै आए पनि आफ्नै संस्थामा धेरैलाई सदस्य बन्न प्रेरित गर्न नसक्नु दुःखद छ ।
३, किन घट्यो सदस्य संख्या ?
छाता संगठन एनआरएनए ग्लोबलको निर्देशनलाई पछ्याउँदै यहाँको कार्यसमितिले ‘सदस्य बन्न फोटोसहितको परिचयपत्र अनिवार्य’ गरेपछि सदस्य संख्या घटेको हो । पहिले कतिपय व्यक्ति नेपाली नागरिकताका भरमा सदस्य बनेको, भुटानी शरणार्थीले पनि यसको दुरुपयोग गरेको र उमेरै नपुगेकाहरु पनि सदस्य भएको पाइएपछि सदस्यतामा कडाई गरिएको थियो ।
४, तर, त्यसमा ‘व्यापारिक स्वार्थ लुकेको’ भनियो नि ?
सदस्य बन्न एनआरएनए क्यानडाको वेबसाइट क्लिक गर्दा अमेरिकाको अर्कै एउटा वेबसाइटमा जोडिने भएकाले ‘प्राइभेसी’ नरहने भनियो । अर्थात् सदस्य बनाउने नाममा बैयक्तिक डाटा बेच्न खोजेको भनियो । बर्तमान नेतृत्वले राम्ररी कुरा नबुझाउँदा पनि ‘प्राइभेसी’ चुहिने कुराले झन् बढी ठाउँ पायो । सदस्यता दुरुपयोग रोक्न कडाई गरिनु ठीक भए पनि छोटो समय दिएर ‘बने बन् नबने नबन्’ भन्ने ‘ठालु प्रवृत्ति’ गलत रह्यो ।
५, कसले चलाउँछ यो संस्था ?
संस्था हाँक्ने कार्यसमितिले हो । एनआरएनए क्यानडाको कार्यसमितिलाई राष्ट्रिय समन्वय परिषद (एनसिसी) भनिन्छ । दुई दुई बर्षमा अधिवेशनमार्फत नयाँ कार्यसमिति गठन हुन्छ ।
६, कार्यसमिति कसरी गठन हुन्छ ?
तोकिएको शुल्क तिरेर एनआरएनएको साधारण र आजीवन सदस्य बन्न पाइन्छ । निश्चित समयपछि तीनै सदस्यहरु मध्येबाट इच्छा हुनेहरु उम्मेद्वार बन्छन् । सदस्यहरुले सकेसम्म सर्वसम्मत नसके चुनावमार्फत आफ्नो क्षेत्रबाट एनसिसी सदस्य चुन्छन् । चुनिएका एनसिसी सदस्यले फेरि सर्वसम्मत नभए चुनावमार्फत् कार्यसमिति बनाउँछन् ।
७, यसअघिका कार्यसमिति कसले हाँकेका थिए ?
सुरुबाट क्रमशः शम्भु धमला, नवराज गुरुङ (दुईपल्ट), विनोद केसी, अनिल थापा, तुल्सी सापकोटा र गोपीकृष्ण काफ्लेले एनआरएनए क्यानडाको नेतृत्व गरिसकेका छन् । उनीहरुले फरक फरक कार्यसमितिमार्फत एनआरएनए क्यानडा हाँकेका हुन् ।
८, अब कहिले बन्छ नयाँ कार्यसमिति ?
अगष्ट १७ मा राष्ट्रिय समन्वय परिषद् (एनसिसी) को अधिवेशन ब्राम्प्टनमा हुँदैछ । त्यसले आगामी दुई बर्षे कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमिति १७ सदस्यीय हुनेछ । बर्तमान कार्यसमितिमा भने १५ एनसीसी सदस्य, १३ सल्लाहकार र दुई अन्तरार्ष्ट्रिय संयोजकसहित ३० जना थिए । ‘बैठकमा कोरम नपुग्ने समस्या भएपछि कार्यसमिति घटाएर १७ जनाको बनाइने’ भनिएको छ ।
९, एनसीसी सदस्य कसरी चुनिन्छन् ?
अघिल्लो कार्यसमितिले मन्ट्रियल साधारणसभाबाट सुरु गरेको ‘थ्रेसहोल्ड’ नियमलाई अहिलेको कार्यसमितिले थण्डर बे साधारणसभाबाट पारित गर्दै एनसीसी सदस्य चुन्ने नयाँ मापदण्ड ल्याएको हो । जसअन्तर्गत प्रोभिन्सका हकमा न्युनतम ६० जना सदस्य भए एक एनसीसी सदस्य र शहरमा न्युनतम एक सय सदस्य भए एक एनसीसी सदस्य निर्वाचित हुने व्यवस्था छ । त्यस्तै, शहरमा तीन सयसम्म सदस्य भए एक र तीन सयभन्दा बढी सदस्य भए दुई एनसीसी सदस्य निर्वाचित हुनेछन् ।
१०, क्यानडामा त्यस्ता निर्वाचन क्षेत्र कतिवटा छन् ?
अहिलेको कार्यसमितिले सदस्यतामा थ्रेसहोल्ड मापदण्ड पूरा गर्ने ९ निर्वाचन क्षेत्रलाई मान्यता दिएको छ । ती हुन्, स्कार्ब्रो, ब्राम्प्टन,
११, कुन निर्वाचन क्षेत्रमा कति मतदाता छन् ?
एनआरएनए क्यानडाले सार्वजनिक गरेको मतदाताको अन्तिम नामवलीअनुसार ब्राम्प्टनमा सबैभन्दा धेरै सात सय १४ मतदाता छन् । यस्तै, मिसिसागामा चार सय ८१, स्कारब्रोमा तीन सय ६६, टोरन्टोमा तीन सय ५८, क्याल्गेरीमा दुई सय २२, एडमण्टनमा एक सय १८, मानिटवामा ८४, ब्रिटिश कोलम्बियामा ८३ र सास्काचुनमा ७० जना छन् ।
१२, मापदण्ड नपुगेका क्षेत्र चाहिँ कुन कुन हुन् ?
अनौठोलाग्दो यो छ, राजधानी अटोवा बस्ने एनआरएन क्यानडाका सदस्यले यसपल्ट न आफू उम्मेद्वार हुन पाउँछन् न नयाँ कार्यसमिति चयन गर्न कुनै चुनावी प्रक्रियामा सहभागी हुन नै । किनकि, ५१ जनामात्र सदस्य रहेको अटोवा ‘थ्रेसहोल्ड’ मापदण्डअनुसार एउटा निर्वाचन क्षेत्र कायम हुन सकेन । अटोवाका ५१ जना मात्रै होइन, उत्तर अन्टारियो, पश्चिम अन्टारियो, मन्ट्रियल र नर्थवेष्ट टेरिटोरिजका ७६ जना पनि चुनावी प्रक्रियामा सामेल हुन सक्दैनन् ।
१३, त्यसक्षेत्रका एनआरएन अगुवा के भन्छन् त ?
अहिलेको नेतृत्वले ‘निर्वाचन क्षेत्र कायम नभएकाले चुनावी प्रक्रियामा समेट्न नसकिएको’ भने पनि त्यसक्षेत्रका अगुवा तथा सदस्य यसमा सहमत छैनन् । बर्तमान कार्यसमिति उपाध्यक्ष रमेश बानियाँ, जो अटोवा निवासी हुन्, उनी स्वयम् चुनावी प्रक्रियामा सामेल हुन नपाउने अवस्थामा छन् । उनी थ्रेसहोल्डलाई नियोजित भन्दै ‘संस्थामा राजनीति गर्ने ग्रयाण्ड डिजाइनको नतिजा’ भन्छन् ।
१४, छुटेका एक सय २७ सदस्यलाई कसरी समेटिन्छ ?
एनआरएनए क्यानडालाई क्यानडा बस्ने सबै नेपालीको साझा र प्रिय बनाउन कसैलाई छुटाउन नहुने एउटा पक्षको धारणा छ । छुटेका क्षेत्रलाई एउटा निर्वाचन क्षेत्र कायम गरी नेतृत्व चयनमा सबै सदस्य समेट्न धेरैको माग छ । अहिलेको नेतृत्व भने ‘थ्रेसहोल्ड नियम लागू भइसकेकाले घरी न घरी यो फेरबदल नहुने र छुटेका सदस्यलाई चुनावी प्रक्रियामा सामेल गर्न नमिल्ने’ बताइरहेको छ ।
१५, अब के हुन्छ त ?
चुनावी प्रक्रिया रोकिने संकेत छैन । किनकी, नेतृत्व तोकिएकै मितिमा अधिवेशन गर्ने ध्याउन्नमा छ । थ्रेसहोल्डको मारमा परेका क्षेत्रबाट अगष्ट १६ पछि नयाँ कार्यसमितिमा एनसिसी सदस्य मनोनित गरिन्छ । मनोनित सदस्यमार्फत ती क्षेत्रलाई समेटिन्छ । चुनावी प्रक्रियामा सहभागी हुन नपाएका एक सय २७ सदस्य र उनीहरुलाई साथ दिने केही अगुवा एनआरएनएहरुको गुनासो बीच अधिबेशन हुन्छ ।
१६, यो विवादलाई राजनीतिक रङ दिनेहरु पनि छन् नि ?
अरुतिर जस्तै एनआरएनए क्यानडामा पनि कांग्रेस र कम्युनिष्ट पक्षबीच को बलियो भन्ने अघोषित शक्ति संघर्ष चल्दै आएको छ । संस्थाले गर्ने सामाजिक काममा आरोप प्रत्यारोप र निन्दा आलोचना खासै सुनिन्न तर अधिवेशन नजिकिँदा नेतृत्व चयनमा यस्तो प्रवृत्ति बल्झिरहन्छ । यो मतदातासम्मै पुग्छ र नेपालमै जस्तो यो उम्मेद्वार कांग्रेस, त्यो उम्मेद्वार कम्युनिष्ट भन्ने कित्ताकाट् हुन्छ । कांग्रेस पक्षधर धेरैवटा गुट र उपगुटमा फस्दा कम्युनिष्ट पक्षधर अहिले हावी छन् । यस्तो अवस्थामा एक सय २७ सदस्य ‘बाइकट्’ हुँदा त्यसलाई राजनीतिक रङ दिइनु झनै अस्वभाविक होइन ।
१७, विवाद नभएका क्षेत्रको अवस्था चाहिँ के छ ?
विवादरहित क्षेत्रमा चुनावी प्रक्रिया अघि बढिसकेको छ । मतदाता र उम्मेद्वारको अन्तिम नामवली प्रकाशन भइसकेको छ । यसपल्ट सिंगो क्यानडाबाट १३ जना एनसीसी सदस्य चुनिँदैछन् । तीमध्ये ५ जना निर्विरोध निर्वाचित भइसकेका छन् । ८ जना लागि अगष्ट १० मा चुनाव हुँदैछ । बाँकि चारजना चाहिँ तोकिएको क्षेत्रबाट पछि मनोनित हुनेछन् । तोकिएको क्षेत्र भन्नाले ‘थ्रेसहोल्ड’को मारमा परेका र माथि उल्लिखित अटोवासहितका ठाउँ प्राथमिकतामा पर्नेछन् ।
१८, निर्बिरोध निर्वाचित हुने पाँच को को हुन् ?
निर्विरोध निर्वाचित भएका एनसीसी सदस्यहरु टोरन्टोबाट चिरञ्जिवी घिमिरे र सरोज भट्टराई, एडमण्टनबाट अर्जुनकुमार विश्वकर्मा, क्याल्गेरीबाट अनन्त आचार्य र सास्काचुनबाट देबेन्द्रहरि सुबेदी हुन् ।
१९, चुनाव हुने क्षेत्र कुन् कुन् हुन् ?
सदस्य संख्या बढी भएका तथा निर्विरोध निर्वाचित हुन नसकेका क्षेत्रमा एनसीसी सदस्यका लागि चुनाव हुँदैछ । ती क्षेत्रमा ब्राम्प्टन, मिसिसागा, स्कार्ब्
२०, बढी मतदाता भएका ब्राम्प्टन र मिसिसागाबाट को को लड्दैछन् ?
दुईजना एनसीसी सदस्य निर्वाचित हुने ब्राम्प्टनमा चार जना उम्मेद्वार छन् । उनीहरु हुन्, कुन्दन घिमिरे, दिनेश खतिवडा (नेत्र), पिताम्बर भट्टराई र राजकुमार महत । यस्तै, दुई जना नै निर्वाचित हुने मिसिसागामा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु हुन्, बिजय पौडेल, बिरेन्द्रबहादुर राउत र तुलासिंह भट्टचन ।
२१, चुनाव हुने अरु क्षेत्रमा को को उम्मेद्वार छन् ?
स्कार्ब्रोमा दुई जना एनसीसी सदस्यका लागि चारजना, फडिन्द्रकुमार श्रेष्ठ, हेमन्तमोहन थापा (उज्वल), रमेशकुमार प्रसाईं र रश्मी थापा लड्दैछन् । मानिटवाको एक एनसीसी सदस्यलाई सुशील दोरंगा र बिनोद कटुवाल क्षेत्रीवीच प्रतिस्पर्धा हुँदैछ । साथै, ब्रिटिश कोलम्बियामा एक एनसीसी सदस्यनिम्ति तीनजना जगदिश कँडेल, शरद शेरचन र सुरज बर्तौलाबीच चुनावी जोडघटाउ हुँदैछ ।
२२, एनसिसी उम्मेद्वार कुन पक्ष र बिचारका हुन् ?
भन्नलाई सबैले स्वतन्त्र भने पनि बहुसंख्यक उम्मेद्वार अघोषितरुपमा नेपाली राजनीतिक दलकै प्रतिनिधित्व गर्ने देखिन्छन् । क्यानेडियन राजनीतिमा खासै नदेखिएका र नेपाली राजनीतिक दलसँग नजिक रहेकाहरु नै उम्मेद्वार छन् । डेमोक्र्याट भन्नेहरु नेपाली कांग्रेस र लेफ्ट भनिनेहरु नेकपा पक्षका देखिन्छन् । तीमध्ये कतिपयलाई नेपाली नेताको आर्शिवाद प्राप्त भएको छ, कतिलाई छैन उनीहरु नै जानुन् ।
२३, आगामी कार्यसमितिको नेतृत्व कसले गर्लान् ?
बिगतको योगदान, सदस्यको रोजाई र एनसीसी उम्मेद्वार हेर्दा सास्काचुनका देबेन्द्रहरि सुवेदी, ब्राम्प्टनका राजकुमार महत र टोरन्टोका चिरञ्जिबी घिमिरेबीच प्रतिष्पर्धा हुने देखिन्छ । देबेन्द्रहरि र चिरञ्जिबी निर्विरोध निर्वाचित भइसकेका छन् भने राजकुमार ब्राम्प्टनबाट एनसीसी सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।