कथा

रहस्यमय ती जीवहरु

कविता बिष्ट

काठमाडौँ
Breaknlinks
Breaknlinks

हिजोआज बिहानको तीन बजेतिर मेरो निन्द्रा एक्कासी खुल्ने गरेको छ। तर हत्तपत्त उठ्न मन लाग्दैन। बरू ओछ्यानमै आँखा चिम्मिलिएर व्यायाम गर्ने गरेकी छु।

आज पनि अलिअलि गरें। तर किन हो कुन्नी, अरु दिन जस्तै व्यायाम गर्ने इच्छा भएन। उठेर झ्याल बाहिर हेर्न मन लाग्यो। आकाश सफा थियो। चकमन्न।

यत्तिकैमा आकाशमा अचम्मको वस्तु उडिरहेको देखें, हवाईजहाज उडने उचाईमा। ती आवाजविहीन थिए।रहस्यमय!  

मेरो प्यारो श्रीमान् मस्त निन्द्रामा थिए। जबरजस्ती उठाउने प्रयास गरे– ‘उठ्न राजा। प्लिज उठन!’ 

उ उठेन। बरु तकियालाई झन् च्यापेर सुत्यो। कति राम्रो अनुहार, निकै मायालु छ उ। हुरुक्कै हुन्छ, म भनेपछि।

भैगो भनेर फेरि झ्यालतिर लागेँ। लौन, यो के हो?! 

के भइरहेछ आकाशमा? आकाशभरि अर्कै ग्रहका जीवझै देखिँने उनीहरु तल तल झरिरहेका छन्।

‘बाबा!’ म एकदम आत्तिएँ। 

‘हनि। राजा उठ्न प्लीज’ भन्दै उसको नरम हात समातेर ज़बरजस्ती उठाएँ। दुबै झ्यालतिर लाग्यौं। अनि ‘विस्फारित नेत्र’ ले आकाशतिर एकटकले हेर्न थाल्यौं। जब हाम्रो घरमाथि ती हरिया रंगका थुप्रै सैनिकका ट्यांक जस्ता देख़िने वस्तु सलबलाउन थाले र सैनिकको पोशाक लगाए जस्ता मानिस ट्यांक माथिबाट निस्किन थाले, अज्ञात डरले दुबैको मनस्थिति खराब भयो।

उनीहरु अस्पष्ट आवाजमा केहि बोलिरहेका थिए। दुबैको सात्तो गयो। छरछिमेकमा पनि कोलाहल मच्चियो। हामी डरले थरथर काँप्दै एक अर्कासित टाँसिरह्यौं।

पल्लो कोठामा छोराहरु सुतिरहेका थिए। हाम्रो ध्यान अब उनीहरुतर्फ मोडियो। जाउँ हेर्न भनी गयौं।

यता चौरभरि ती अच्चमका जीवहरु अवतरण गरिसके छन्। हामी बच्चाहरुलाई उठाउदै थियौ, सैनिक जस्ता देखिने ती मानिस हाम्रो घरको ढोका फोरेरभित्र प्रवेश गर्दै थिए। घरमा रुवाबासी शुरू भयो। छिमेकीहरुको पनि चिच्याहट र क्रन्दन सुनिन थाल्यो।

लेजरगन जस्तो हातहतियारले सुसज्जित उनीहरूले हामीलाई घरबाहिर निकाले। त्यस पश्चात को कहाँ? को कहाँ? के–के भयो, पत्तै पाइन।

होस् सम्हाल्दा, क़ुनै विशाल अस्पताल जस्तो ठाउँमा आफूलाई पाए। पिलरको पछाडिको भागबाट लुक्दैअघि बढ्दै गर्दा केहि नर्सहरु देखे र मद्दतको गुहार लगाए। उनीहरु मलाई भनिरहेका थिए– यताबाट जानुस्, उतातिर नजानुस्। त्यहाँ अमुक देशका सैनिकले अन्धाधुन्ध मान्छे मारिरहेका छन्।

एक्कासी मलाई याद आयो– मेरो श्रीमान् कता होलान्? छोराहरु के गर्दै होलान्? कतिबेला आँखाबाट आशु झर्यो पत्तै पाइन। अस्पतालको कोठा चहार्दै गर्दा थुप्रै अपरिचित अनुहार देखे मैले।

जतिबेला म तात्तातो आशु पिएर अस्पतालको कोठाबाट बाहिर निस्किन खोज्दैथिए, एउटा अपरिचित मान्छेले एक्कासी मेरो बाटो छेक्यो। मेरो मुटुले ठाउँ छोड्ला जस्तो भयो। ज्यानको भिख मागे। उसले भन्यो– ‘ए, मसित डराउनु पर्दैन। म पनि नेपाली नै हो। तर होस् गर्नुहोला।’

यत्ति भनेर उसले बाटो छोड्यो। म होसमा थिइन। चारैतिर लासै लास। बिभत्स दृश्यको माझ आफ्नो परिवार खोजिरहेकी थिए।

यत्तिकैमा डाँडामा एउटा ठूलो भोजनालय देखे, सिसैसिसा भएको। यसो ध्यान दिएर हेरेको मेरा दुई छोराहरु त्यहाँ केहि खाइरहेका थिए। कसोकसो गरि डाँडा चढें। उनीहरु भएतर्फ लागें। नजिकै पुग्नलाग्दा जेठो छोरोले देख्यो र औधी खुशी भयो। मैले आँखाको इशाराले उसलाई भने– भाईलाई लिएरबाहिर निस्क।

एकै छिनपछि आमा र छोराको भेंट भयो। हर्षको सीमा रहेन। तर हामी तत्कालै अमुक देशका महिला आर्मीहरूको घेराउमा पर्यौं। उनीहरूले हाम्रो टाउकोमा बन्दुक तेर्साए। मारिने भैयो भनेर हामीले एक अर्कोलाई कसेर अंकमाल गर्यौं।

यत्तिकैमा एक जनाले नेपालीमा भनिन्, ‘तिम्रो सानो छोरोलाई हामी केहि गर्दैनौ। तिमी आफै उसलाई त्यो माथिको सिढीबाट खसालेर मारिदेउँ।’

मेरो छोरोको कानमा त्यों वाक्य पर्यो। हामी तीन जना झन् रुन थाल्यौं। म त एकाएक बेहोसै भइछु। होस् आउँदा फेरि त्यही अस्पतालको कोठाभित्र आफूलाई पाएँ।

कोहि माथि खाटमा, कोहि तल भूइँओच्छ्यानमा पल्टिरहेका नेपाली महिलाहरु। मलाई मायालु भावमा भनिरहेका थिए– सुत, सुत।

तर मेरो आँखामा निन्द्रा थिएन। के भयो मेरो बच्चाहरुलाई? यही सोचेर मुटु फुट्ला जस्तो भयो। यत्तिकैमा एउटा आवाज मेरो कानमा ठोकियो– ‘धेरै छुनुमुनु नगर। चुपचाप सुत बाबु’।

कसलाई भनेको रहेछ? मन दु:खी भएपनि यसो हेरेको त मेरो कान्छो छोरोलाई कुनामा सिरकले गुटुमुटु पारेर लुकाइएको रहेछ। ओहो! मेरो कान्छु भन्दै उसलाई गमलङ अंगालो हाले।

हल्ला नगर्नु फेरि लैजालान् तपाईको छोरालाई, भनिन् छेउकि महिलाले। नभन्दै, बुट जुत्ताहरूको गर्याप गर्याप गरेको आवाज़ नजिकै सुनिन थाल्यो। मैले छोरालाई काखमा लिएँ।

त्यतिकैमा मेरो मथिङ्गल हल्लिन थाल्यो। सिङ्गै कोठा घुमे जस्तो लाग्यो। हामी आमाछोरा फनफनी घुम्न थाल्यौं। पुरै अस्पताल घुम्यो। हुँदाहुँदै पृथ्वी पुरै ब्रम्हाण्डबाट टाढा। अन्तरिक्षमा कुनै ‘स्पाइरल’ देखिए जस्तो लाग्यो। आफ्नो छातीमा हात राखें। झल्यास्स् आँखा खुल्दा त आफूलाई आफ्नै ओच्छ्यानमा पाएँ।

दायाँतिर हेरेको कान्छो र जेठो दुबै छोराहरु मस्त मेरो छेउमा निदाइरहेका रहेछन्। जेठो छोरो अलि पर भएकोले उसको नरम हात चपक्क समातें र कान्छोलाई मुहारभरि माया गरिरहे।

उफ, डरलाग्दो सपना। बिश्वास गर्नुस् आज दिनभरि आकाशतर्फ आँखा गएको छैन, केही देख्छु कि भन्ने डरले।

( डिस्क्लेमर: यो कथा पूर्णरूपमा काल्पनिक हो...देश, स्थान र मान्छेसँग मेरो कुनै बैरभाव छैन। कुनै घटनाक्रम मिल्न गएमा संयोग मात्र हुनेछ)

प्रकाशित मिति: : 2021-06-05 15:57:00

प्रतिकृया दिनुहोस्

    What an imagination!!!👌Could vividly visualise the story so lively articulated. Gave a glimpse of star war movie. Very engrossing. Keep it up Kavita👍 Great writting

    • 3 बर्ष अगाडि
    • Rajiv Jain