सुर्खेतः प्रभावकारी पूर्वाधार नहुँदा अझै पनि दुर्गम र ग्रामीण बस्तीमा खोला र नदी तर्न डुंगाको भर पर्नुपर्ने बाध्यता छ। ज्यानको बाजी राखेर कर्णाली नदी पार गर्नुपर्ने बाध्यतामा छन् कैलाली मोहन्याल गाउँपालिका ३ मलेखाका विद्यार्थी।
मगर समुदायको बसोबास रहेको यो बस्तीमा एउटा माध्यामिक विद्यालय छैन भने भएको प्राथमिक विद्यालय पनि गतिलो छैन। शिक्षाका लागि ज्यान जोखिममा राखेर विद्यार्थी नदी वारपार गर्न बाध्य छन्। कैलालीको यो गाउँपालिकाबाट सिमाना जोडिएको सुर्खेतको चौकुने गाउँपालिका ४ विजौरास्थित जगनाथ माध्यामिक विद्यालयमा कर्णाली नदी तरेर पढ्न आउँछन् विद्यार्थी।
'सधैँ गाउँका विद्यार्थी जम्मा भएर डुंगा खियाउँदै जान्छौँ। आजभोलि नदी उर्लिएका बेला डुंगा चलाउन सकिँदैन। त्यही पनि कहिले काहीँ ज्यानको बाजी थापेर स्कुल आउनुपर्छ' कक्षा ८ मा अध्ययनरत दीपेन्द्र आलेले भने, 'कहिले त नदी छेउमा बस्दा बस्दा नदी तर्न नसकेर फर्किनुपर्छ।’ उर्लने वर्षे भेल तर्नु कलिला बालबालिकाको रहर नभई कहर हो। कैलालीको मोहन्याल गाउँपालिकाको ३ वडामा माविसम्म विद्यालय नहुँदा विद्यार्थी कर्णाली नदी पार गरेर सुर्खेत पुग्छन्। गाउँपालिकाको त्यो वडामा मावि विद्यालय नहुँनु र भएका विद्यालय पनि समुदायबाट टाढाको दुरीमा हुनुले बालबालिका ज्यानको जोखिम मोलेर सुर्खेत आउने गरेका छन्।
'हाम्रो गाउँमा प्राविसम्म मात्रै छ। मावि विद्यालय पढ्न टाढै जानुपर्छ। त्यता जानुभन्दा सुर्खेतको विजौरा आउन छोटो हुन्छ' विद्यार्थी खगिसरा सलामी भन्छिन्, ‘गाउँमा भएको सानो स्कुल पनि गतिलो छैन। अनि नदी तरेरै भए पनि पढ्न आउनुपर्छ।’
गाउँमा माध्यामिक विद्यालय नभएकै कारणले कपितय बालबालिकाले विद्यालय छोड्नुपर्ने बाध्यता छ। आर्थिक रुपमा सबल भएका परिवारका विद्यार्थी गाउँपालिका भन्दा बाहिर भाडा लिएर उच्च शिक्षा लिइरहेका छन्। ज्यानको जोखिम मोलेर दैनिक ६० देखि ७० जना विद्यार्थी नदी वारपार गरेर पढ्न आउजाउ गर्न बाध्य छन्। जगनाथ माध्यमिक विद्यालय विजौराका शिक्षक ओमप्रकाश बास्तोलाका अनुसार कैलालीको मलेखाबाट दैनिक ६०/७० जना विद्यार्थी नदी वारपार गर्ने गरेका छन्। मलेखाबाट कक्षा ६ मा १६ जना विद्यार्थी अध्ययन गर्न पुग्ने गर्छन्।
कर्णाली नदी तर्न विद्यार्थी मात्रै बाध्य नभएर त्यहाँका स्थानीय समेत डुंगामा वारपार गर्ने गरेको शिक्षक बास्तोला बताउँछन्। ‘विद्यार्थीले पढ्न आउँदा डुंगाको भरमा ज्यानको बाजी थापेर आउनुपर्छ। विजौरा विद्यार्थी पढ्ने मात्रै नभएर व्यापारिक हिसाबले पनि त्यहाँका स्थानीय दैनिक आउजाउ गर्ने ठाउँ हो।’उनले भने, ‘शैक्षिक र व्यापारिक हिसाबले नदी वारपार गर्नुपर्ने हुँदा सम्बन्धित निकायले ध्यान पुगेर पुल हालेको भए सजिलो हुने थियो।’ त्यसो त यस स्थानमा पुल बनाउने भन्दै नेतृत्वकर्ताहरु नकस्सिएका भने होइनन्। तर, पटक-पटक अनुगमन गर्दै फर्किँदै गर्ने गर्ने काममात्र भइरहेको छ। २०७१ सालमा सुर्खेतबाट निर्वाचित सांसद् एवं तत्कालीन सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले पुल निर्माण गर्ने भन्दै सर्वे समेत गराएका थिए। तर, अहिलेसम्म कुनै काम भएको छैन।