रियल मड्रिडले आर्सनललाई हरायो

तस्बिरः एजेन्सी

अमेरिका । स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब आर्सनललाई हराएको छ। प्रि-सिजन टुर अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कपमा बुधबार भएको खेलमा स्पेनिस महारथी रियलले लण्डन क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले हराएको हो।

खेलको निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

टाइब्रेकरमा आर्सनलको पहिलो प्रहार गोल भएको थियो। तर, रियलका लागि पहिलो प्रहार गरेका गारेथ बेल चुके।

आर्सनलले बाँकी चारमध्ये तीन प्रहारमा गोल गर्न सकेन। पहिलो प्रहार असफल भए पनि लगातार तीन गोल गरेको रियलले अन्तिम प्रहारमा जानै परेन।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा २–० ले पछाडि परेको रियललाई ग्यारेथ बेल र मार्को एसेन्सियोले जोगाएका थिए।

खेलको नवौं मिनेटमा नाचो फर्नान्डेज दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो । त्यसको फाइदा आर्सनलले तुरून्तै लियो।

खेलको दशौं मिनेटमा एलेक्सजेन्डर लाकाजेट्सले गोल गर्दै सुरूवाती अग्रता दिलाए। यस्तै खेलको २४ औं मिनेटमा पेरिक एम्रिक आबुमियाङले गोल गर्दै आर्सनललाई पहिलो हाफमै २–० को अग्रता दिलाएका थिए ।

खेलको ४० औं मिनेटमा आर्सनलका सोक्रेट्स दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्सनल पनि १० खेलाडीमा समेटिएको थियो।

यसको फाइदा पनि रियलले उठायो ।

दोस्रो हाफमा मैदान छिरेका बेलले ५७ औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिश गरे। त्यसपछि एसेन्सियोले ५९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

खेलमा २-० गोलले पछाडि परेर पनि उत्कृष्ट पुनरागमन गरेको रियल टाइब्रेकरमा गएर नतिजा आफ्नो पक्षमा पार्‍यो।

नतिजासंगै प्रि–सिजन टूरमा आर्सनलको जितको श्रृङ्खलामा पूर्णविराम लागेको छ । उसले पछिल्ला तीन खेलमा स्पष्ट जित निकालेको थियो ।

 

प्रकाशित मिति: : 2019-07-24 23:17:28

प्रतिकृया दिनुहोस्