क्यानडामा आकांक्षाको मानक उपलब्धी : ८० हजार डलरको छात्रवृत्ति

अमेरिकाका लागि क्यानडाकी युथ एम्बासडरसमेत रहेकी नेपालीमूलकी किशोरी आकांक्षाका जीवनका क्षणहरू । लेआउट : ब्रेक एन लिंक्स ग्राफिक्स ।

बैज्ञानिक बन्ने लक्ष्य राख्दै आएकी नेपालीमूलकी एक किशोरीले क्यानडामा ८० हजार डलर (झण्डै ६५ लाख रुपैंयाँ) बराबरको प्रतिष्ठित छात्रवृत्ति पाएकी छन् । 

काठमाडौंबाट आठ बर्षअघि परिवारसहित क्यानडा आएकी आकांक्षा खरेलले यहाँको ‘सुलिक लिडर स्कलरसीप– २०१९’ पाउन सफल भएकी हुन् । हाइस्कुल सकेपछि स्नातक तहमा ‘स्टेम’ (साइन्स, टेक्नोलजी, इञ्जिनियरिङ र म्याथमेटिक्स) अध्ययन गर्न चाहने ५० विद्यार्थीलाई यो छात्रवृत्ति दिइन्छ । 

‘क्यानडाभरका तीन लाख ५० हजार विद्यार्थीले यो छात्रवृत्तिलाई अप्लाई गरेका थिए’ आकांक्षाले सुनाइन्, ‘त्यसमा योग्य ५० जना छानियो, जसमा म पनि पर्न सफल भएँ ।’

छात्रवृत्ति पाउन सफल विद्यार्थीमध्ये २५ जनाले इञ्जिनियरिङ र २५ जनाले साइन्स विषयमा उच्च शिक्षा लिनेछन् । आकांक्षाले बैज्ञानिक बन्ने लक्ष्य पूरा गर्न साइन्स पढ्नेछिन् । 

अल्वर्टाको एडमण्टनमा बसोबास गर्ने आकांक्षाले अब यहींको ‘युनिभर्सिटी अफ अल्वर्टा’मा जनरल साइन्सअन्तर्गत केमेष्ट्री र बायोलोजी पढ्ने जनाएकी छन् । 

चार बर्षे स्नातक पढाई पूरा गर्न ८० हजार डलरको छात्रवृत्ति पाएपछि धेरै उत्साहित बनेकी आकांक्षा भन्छिन्, ‘साढे तीन लाखबाट छानिएर ५० जनामा पर्दा साँच्चै खुसी छु ।’ 

क्यानडाका हाइस्कुलमा राम्रो अंक ल्याएका, नेतृत्व गर्नसक्ने क्षमता भएका र समुदायमा प्रभाव पार्ने काम गरेका विद्यार्थीलाई सन् २०१२ देखि ‘सुलिक लिडर स्कलरसीप’ दिइन्छ । 

‘हाम्री छोरी पढाईमा, नेतृत्वमा र समुदायमा सधैं अगाडि थिइन्’ बुवा मनिषले आकांक्षाबारे भने, ‘नेपालैदेखि सिर्जनात्मक कुरामा तगडा थिइन्, अहिले त्यसको झनै पुष्टि गरिन् ।’

आकांक्षाले एडमण्डटनस्थित ‘आर्चविशप म्याक्डोनाल्ड हाइस्कुल’बाट राम्रो अंक ल्याएकी थिइन् । विद्यालयकै तर्फबाट उत्कृष्ठ विद्यार्थीलाई यो छात्रवृत्तिका लागि सिफारिस गरिन्छ । त्यसका अतिरिक्त एडमण्टनमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आकांक्षाले नाच्ने र गाउने गर्दै आएकी छन् । शरणार्थी र नयाँ आप्रवासीका लागि पनि सहयोग पुर्याएकी छन् ।

‘ती सबै कुराको जोडफलले नै छात्रवृत्ति पाएकी हुन्’ सन्तानको शैक्षिक प्रगतिमा प्रफुल्ल देखिएका मनिषले सुनाए, ‘हामीले जस्तो मार्गदर्शन दियौं, छोरीले पछ्याउँदै अघि बढिन् ।’ 

क्यानडा आउनुपूर्व आकांक्षाका बुवाआमा नै काठमाडौंको बसुन्धरास्थित नेपाल मोडेल उच्च माविमा कार्यरत थिए । बुवा प्रिन्सिपल, आमा विज्ञान शिक्षक । ‘आमा त टिचर भइहाल्नुभयो, हजुरबुवाले झनै साइन्स र टेक्नोलोजीमा ज्ञान दिनुभयो’ छात्रवृत्ति घोषणापछि आकांक्षाले सुनाइन् ‘यसमा उहाँहरु दुबैको ठूलो भूमिका छ ।’

प्राध्यापनपछि काठमाडौंमै अवकाश जीवन बिताइरहेका फणिन्द्र काफ्ले आकांक्षाका मावलका हजुरबुवा हुन् । जसले नातिनीले छात्रवृत्ति पाउँदा खुसी मनाएको बताएका छन् । 

पढाईका अतिरिक्त सिर्जनात्मक क्षेत्रमा दख्खल भएकै कारण आकांक्षा सन् २०१८ मा क्यानडाबाट अमेरिकाका लागि युथ एम्बासडर भएकी थिइन् । 

यसका साथै, यसबर्ष ‘सिटी अफ एडमण्टन’ले पनि ‘जुनियर एकेडेमिक अवार्ड– २०१९’ मार्फत उनको शैक्षिक तथा सिर्जनात्मक क्षमताको सम्मान गरिसकेको छ ।

प्रकाशित मिति: : 2019-07-18 23:16:12

प्रतिकृया दिनुहोस्