विद्यालय हाताभित्रै मदिरा पार्टीबाट प्रधानाध्यापक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पूर्वी चितवनको रत्ननगर नगरपालिका–९, स्थित कपरखोरी माध्यमिक विद्यालयमै मदिरा पार्टीबाट विद्यालयका प्रधानाध्यापकसहित पाँच जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरी टोलीले विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेल, सह–प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
असार मसान्तको हिसाब फछ्यौटपछि उनीहरुले मदिरा पार्टी आयोजना गरेका थिए। विद्यालय भित्रै मदिरा पार्टी गरेको र मदिरा सेवन गरी होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
पक्राउ परेका प्रधानाध्यापक सहित सबैजनालाई प्रहरी हिरासतमा राखि आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।