विश्वकप फुटबल छनोटमा नेपाल कठिन समूहमा : नेपाल र अस्ट्रेलिया एउटै समूहमा

तस्बिरः फिफा

आगामी सन् २०२२ मा हुने कतार विश्वकप र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कप छनोटको दोस्रो चरणमा नेपाल कठिन समूहमा परेको छ।

एसियाली फुटबल महासंघको मुख्यालय मलेसियाको क्वालालम्पुरमा बुधबार भएको दोस्रो चरणको ‘ड्र’ मा नेपालसम्मिलित समूह ‘बि’ मा अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत छन्।

दोस्रो चरणमा पुगेका ४० टिमलाई विभिन्न ८ समूहमा विभाजन गरिएको छ।

दोस्रो चरणको प्रतिस्पर्धा आगामी भदौ ९ देखि सुरु हुनेछ। पाँच टिमले ह‍ोम एन्ड अवेको आधारमा एक वर्षको अन्तरमा ८-८ खेल खेल्नेछन्।

पाँच पटक विश्वकप खेलिसकेको अस्ट्रेलिया सन् २०१५ को एसियन च्याम्पियनसमेत हो। यो बाहेक ताइपेई, जोर्डन र कुवेत नेपालका लागि परिचित हुन्।

विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोटको समूह

समूह एः चीन, सिरिया, फिलिपिन्स, माल्दिभ्स, गुवाम

समूह बीः अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई, कुवेत, नेपाल

समूह सीः इरान, इराक, बहराइन, हङकङ, कम्बोडिया

समूह डीः साउदी अरेबिया, उज्वेकिस्तान, प्यालेस्टाइन, यमन, सिंगापुर

समूह ईः बंगलादेश, ओमान, भारत, अफगानिस्तान, कतार

समूह एफः जापान, किर्गिस्तान, ताजकिस्तान, म्यानमार, मंगोलिया

समूह जीः युएई, भियतनाम, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया

समूह एचः दक्षिण कोरिया, लेवनान, उत्तर कोरिया, तुर्केमिनिस्तान,श्रीलंका

समूहका ८ विजेता र उत्कृष्ट उपविजेता ४ टिम गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरण पुग्नेछन्। १२ टिमलाई २ समूहमा विभाजन गरिनेछन्।

दुवै समूहका शीर्ष २-२ टिम गरी ४ टिम विश्वकप २०२२ मा पुग्नेछन्। दुवै समूहमा तेस्रो हुने टिमबीच प्ले अफ हुनेछ। विजेता टिम अन्तरमहादेशिय प्लेअफमा पुग्नेछ। अन्तरमहादेशिय खेल जित्ने टिम विश्वकपमा पुग्नेछ।

यस्तै दोस्रो चरण छनोटको समूहका शीर्ष हुने ८ टिम सिधैं एसिया कप २०२३ पुग्नेछन्। दोस्रो चरणको समूहको दोस्रो भएका उत्कृष्ट चार टिम पनि सिधैं एसिया कपमा पुग्नेछन्।

यस्तै चीन आयोजकको रुपमा एसिया कपमा पुगिससकेका छ। २४ देशबीच हुने एसिया कपका लागि बाँकी ११ टिमका तेस्रो चरणको छनोट हुनेछ।

दोस्रो चरणबाट एसिया कपमा छनोट हुन नसकेका समूहमा दोस्रो भएका ४ टिम एसियाको तेस्रो चरणमा पुग्नेछन्। यस्तै तेस्रो भएका ८ टिम पनि सिधैं तेस्रो चरणमा पुग्नेछन्। चौथो र पाँचौ भएकाले टिमले भने प्लेअफ खेलेर तेस्रो चरणमा स्थान बनाउने सक्नेछन्।

प्रकाशित मिति: : 2019-07-17 17:59:46

प्रतिकृया दिनुहोस्