माल्भिका सुब्बा पहिलो पटक महिनावारी हुँदा बाह्र वर्षकी थिइन्।
२०५० सालको कुरा हो। त्यो बेला महिनावारीलाई कुन हदसम्म हेला गरिन्थ्यो, हामी सबै अनुमान लाउन सक्छौं।
त्यो समयमा महिनावारी चलनका छोइछिटो झेल्नु नपरेको सुन्दा अचम्म लाग्न सक्छ। तर लिम्बू बुबा र बाहुन आमाकी छोरी माल्भिकाले यी सबै खेप्नुपरेन।
'आमा नर्स हुनुहुन्थ्यो। महिनावारी हुँदा बढी ध्यान सरसफाइमा दिन भन्नुहुन्थ्यो। तर बार्ने कुरामा कहिल्यै विश्वास गर्नु भएन,' माल्भिकाले आफ्नो किशोरावस्थाको महिनावारी अनुभव सुनाउँदै भनिन्, 'भान्सामा छिर्न, खानेकुरा र बोटबिरुवा छुन, पूजाकोठामा जान नहुने जस्ता चलन हाम्रो घरमा भएन।'
जुन बेला बालिकाहरूलाई महिनावारीबारे थाहा पाउन आफ्नै महिनावारी पर्खनु पर्थ्यो, त्यो बेला माल्भिका भने धेरै अघि बढिसकेकी थिइन्। उनकी आमाले उनलाई महिनावारी हुनुअघि नै त्यसबारे सबै जानकारी गराउँदै सजग गराइसकेकी थिइन्।
सरसफाइमा कति ध्यान पुर्याउनु पर्ने, के-कस्ता खानपिन गर्नुपर्ने जस्ता आधारभूत जानकारी आफूलाई महिनावारी हुनु अगावै थाहा भएको उनी बताउँछिन्।
शिक्षित र स्वास्थ्य क्षेत्रमा आबद्ध परिवारमा जन्मिनाले उनको महिनावारी 'हाउगुजी' बनेन। उनी आफूलाई भाग्यमानी ठान्छिन्। तै बाल्यकालमा कहिलेकाँही त्यही 'भाग्य' माल्भिकालाई 'अभिशाप' पनि लागेको उनले बताइन्।
'महिनावारी हुँदा शरीर दुख्थ्यो। आराम मात्र गरेर बस्न मन लाग्थ्यो। तर महिनावारीलाई आराम गर्ने बहाना बनाएको आमालाई मनपर्थेन,' उनले भनिन्, 'अरु साथीले केही नगरी आराम गरेको देख्दा मेरी आमा चाहिँ कठोर मन भएको जस्तो लाग्थ्यो।'
विद्यालय पढ्दासम्म महिनावारीमा 'बार्ने' चलन नभोगेकी माल्भिकाले कलेज गएपछि यसबारे सचेत भइन्। साथीहरूका महिनावारीको पीडादायी कथा सुन्दा अच्चम लाग्थ्यो।
यिनै कुराहरूले उनलाई अनुभूति गरायो। सानोमा आमाका कुराको गलत अर्थ लगाए पनि पछि सही र गलत छुट्टाउन सकिन्। सहरी भेगमा महिनावारी बेला 'आराम' पाए पनि गाउँघरमा हुने यसको सास्ती बुझिन्।
तर साथीहरूले 'बारेको' अनुभव कथा जस्तो मानेकी माल्भिकालाई आफूले नै भोग्नु पर्दा कुनै अपराधै गरे झैं महशुस भयो।
लिम्बू परिवारकी माल्भिका नेवार परिवारमा बुहारी भएर भित्रिइन्। भिन्नाभिन्नै संस्कृति र रितिरिवाजका कारण उनलाई सुरूका दिनमा त घुलमिल हुनै गाह्रो भयो। तर मुख्य समस्या त्यो थिएन।
बुढापाका सदस्य रहेका ठूलो नेवार परिवारमा महिनावारी बार्ने चलन थियो। यसको चपेटामा माल्भिका परिहालिन्।
'बिहे भएको केही दिनमै म महिनावारी भएँ। बार्ने चलन मान्नु कर लाग्यो,' उनले आफ्नो पहिलो 'नछुने' अनुभव सुनाउँदै भनिन्, 'भान्सामा छिर्न नदिँदा, अरूसँगै बस्न नपाउँदा साह्रै चित्त दुख्थ्यो। परिवारका पुरुष सदस्यले त्यसबारे आवाज नउठाएको देख्दा अनौठो लाग्थ्यो।'